मानव बेचबिखन नियन्त्रणमा नेपालको प्रगति, नीतिगत सुधार र जनचेतनामूलक कार्यक्रममा जोड

news-details

कोभिड–१९ महामारीको नकारात्मक प्रभावका बाबजुद नेपाल सरकारले मानव बेचबिखन नियन्त्रणमा प्रगति गरिरहेको एक अध्यनले देखाएको छ । यूएस मानव बेचबिखन प्रतिवेदन, २०२१ अनुसार नेपालले पालेर्मो आलेखको अनुमोदन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा संशोधन गर्ने कदमलगायत मानव बेचबिखनविरुद्ध निरन्तर रुपमा जनचेतना जगाउने कार्य गर्दै आएको र यसले मानव बेचविखन नियन्त्रणमा प्रगति देखाएको उल्लेख गरेको छ ।

सूचना र सञ्चार प्रविधिमा भएको तीब्र विकासका कारण मानव बेचबिखन नियन्त्रणका चुनौतीहरु पनि बदलिएका छन् । कोभिड–१९ को कारणले भएको बन्दाबन्दीले गर्दा मानव बेचबिखनकर्ताहरुले संकटाभिमुखहरूलाई आकर्षित गर्न र भ्रामक बनाउन सामाजिक मिडिया र मोबाइल प्रविधिहरू बढ्दो रूपमा प्रयोग गरेको देखिएको छ । यस चुनौतीलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय साझेदार र स्थानीय निकायसँगको सहकार्यमा सोही अनुसारको कानुन परिमार्जन र जनचेतनामूलक कार्यक्रम जारी राख्दा मानव बेचविखन नियन्त्रण थप प्रभावकारी बनेको प्रतिवेदनको निश्कर्ष छ ।

विशेष रूपमा सन् २०१५ को भूकम्प र अहिलेको कोभिड–१९ को महामारीबाट प्रभावित धेरै नेपालीहरू बेचबिखनको जोखिममा छन् । संयुक्त राष्ट्रसङ्घको मानव बेचबिखनविरुद्धको अन्तरराष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित वेबिनारले यी चुनौतीहरूको सामना गर्न मानव बेचबिखनमा परेकाहरुको दरो संलग्नता र सहभागिता हुनुपर्छ भन्नेमा जोड दियो । ‘पीडितको आवाजले पथ प्रदर्शन गर्छ’ भन्ने नारासहित आयोजित सो वेबिनारले आवाज, एजेन्सी र मानव बेचबिखनमा परेकाहरुको नेतृत्व तथा पीडित केन्द्रित कार्यक्रमहरुले मात्र मानव बेचबिखनको समस्या समाधान गर्न सक्छ भन्नेमा जोड दिएको थियो ।

साथै वेविनारमा हाम्रो सम्मान परियोजनाले सहयोग गरेका मानव बेचबिखनमा परेका व्यक्तिहरुले कसरी आफूहरु मानव बेचबिखनबाट उम्किन सफल भए र कसरी उत्थानशीलता हासिल गरे भन्ने अनुभव सुनाएका थिए । उनीहरू हाल स्थानीय समिति र सरकारसँगको समन्वयमा स्थानीय स्तरमा चेतना अभिवृद्धि, सामुदायिक संलग्नता र रूपान्तरणात्मक सशक्तीकरणमा सहयोग गर्न कार्यरत छन् । सो कार्यक्रमले मानव बेचबिखन नियन्त्रणका लागि बढ्दो संकटाभिमुखता, नयाँ चुनौतीहरु र समन्वयात्मक समाधानबारे छलफल ग¥यो ।

कार्यक्रममा यूएसएआईडी नेपालकी कार्यवाहक मिशन निर्देशक एड्रियाना हेइजले भन्नुभयो, ‘यस कार्यक्रमले स्थानीय सरकारहरुले आफ्ना समुदायमा मानव बेचबिखन नियन्त्रणका लागि गरेका प्रयासहरुलाई उजागर गर्ने मञ्चको रूपमा काम गरेको छ । नगरपालिका र प्रादेशिक स्तरमा मानव बेचबिखनमा परेका व्यक्तिहरुको सञ्जालहरू, बेचबिखनमा परेका व्यक्तिहरुसँग निजी क्षेत्रको संलग्नता र सङ्घीय तहमा विभिन्न मन्त्रालयहरू र सरकारी निकायहरुको सहकार्य प्रेरणादायक छ र यूएसएआईडी यी कार्यहरुमा साझेदार भएकोमा म गर्व महसुस गर्दछु ।’

यस्तै ब्रिटिश दूतावास काठमाडाँैका विकास निर्देशक नथेइनिअल बिभानले भन्नुभयो, ‘संकटले महिला र युवतीहरुसहित सीमान्तकृत समुदायहरुमा असमान असर पार्छ । कोभिड–१९ महामारीले त्यस्ता समूहहरूलाई पहिलेभन्दा बढी जोखिममा पारेको छ । स्थानीय सरकारहरू र सरोकारवालाहरूसँग काम गरेर हाम्रो सम्मान परियोजनाले मानव बेचबिखन नियन्त्रणमा पीडितहरुको आवाज र नेतृत्व सुनिश्चित गर्दैछ । यस वर्ष भएको प्रगति देख्दा म खुसी छु र बेलायतले संकटाभिमूख समूहलाई हुने क्षति कम गर्न सरकारहरु र अन्तरराष्ट्रिय साझेदारहरूसँग कडा मेहनत गरिरहने छ ।’

यूएसएआईडी र संयुक्त अधिराज्यले मानव बेचबिखनसम्बन्धी विशेष गरी वैदेशिक रोजगारी र मनोरञ्जन क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्न सहयोग पु¥याउन हाम्रो सम्मान परियोजनालाई कोष उपलब्ध गराएका छन् । यस परियोजनाको उद्देश्य मानव बेचबिखन नियन्त्रण गर्न नेपाल सरकारको प्रणालीलाई सुदृढ पार्नु र नेपालको सङ्घीय संरचनाअन्तर्गत मानव बेचबिखनकर्ताहरुलाई कारबाही गर्न कानुनी व्यवस्थालाई बलियो बनाउन सरकार, नागरिक समाज र निजी क्षेत्रबीच समन्वय गर्नु हो ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “मानव बेचबिखन नियन्त्रणमा नेपालको प्रगति, नीतिगत सुधार र जनचेतनामूलक कार्यक्रममा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *