कोभिड त्रासकैबीचमा पनि विदेशमा नेपाली कामदारको माग उच्च, तर कहिले खुल्ने अन्योल कायमै !
- असार २३, २०७८
- 0
कोभिडको अवधिमा विदेशबाट नेपाली कामदारको माग उच्च रहेको विदेशमा रहेका श्रम कन्सुलरको भनाई छ । तर महामारीका कारण रोजगारी कहिलेबाट खुल्छ भन्ने टुंगो अझै लाग्न सकेको छैन ।
वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘श्रम गन्तब्य मुलुकहरुले नेपाली कामदार लिन गरेका नयाँ व्यवस्था’ विषयक वेविनार कार्यक्रममा मलेसिया, यूएई र साउदी अरवका श्रम कन्सुलरले अहिले नेपाली कामदारको माग राम्रो रहेको बताएका हुन् ।
मलेसियामा नेपाली कामदारको माग भएपनि कोरोनाका कारण त्यहाँको सरकारले खोल्न नचाहेको बताउँदै मलेसियाका श्रम कन्सुलर दिपक ढकालले अहिले मलेसियामा रहेका नेपाली घर फर्कन नपाएको कारण धेरै रोजगारीको माग रहेको जानकारी दिए ।
मलेसिया महामारीको दर हेरेर मात्रै कामदार लिने नलिने योजनामा रहेको ढकालको भनाई छ । डिसेम्बरदेखि कोरोना महामारी नर्मल भयो भने कमदार लिने अपेक्षा भएपनि त्यो हुन नसकेको ढकालले जानकारी गराए ।
मलेसियामा कार्यरत नेपाली स्वदेश फर्कन सातामा ३ उडान हुने र अहिले तीन साताको लागि उडान प्याक भएको र टिकट पनि महंगो भएको ढकालको भनाई छ ।
त्यसैगरी यूएईकी श्रम कन्सुलर निर्मला थापाका अनुसार यूएईले भने तत्कालै कामदार नलिने नीति लिएको छ । जुलाइसम्म कामदार नल्याउने नीति लिएको र अहिले बिदामा नेपालमा रहेका कामदार ल्याउन समस्या भएको उनको भनाई छ । थापाका अनुसार २९ हजार कामदारको मागपत्र स्वीकार भएकोमा कोरोनाका कारण त्यो रोकिएको छ ।
यूएईमा रोजगारीको लागि कसैलाई भिषा जारी नगरेका कारण खोप लाउने-नलाउनेलाई आउन दिने विषयमा निर्णय नभएको उनको भनाई छ ।
साउदी अरबका श्रम कन्सुलर जीवन राईका अनुसार अहिलेसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणिकरण भएको छ । साउदीमा नेपालीको माग राम्रो रहेको उनको भनाई छ । अहिले मलेसियामा स्थगन भएको, यूएईमा कोटा सिमित भएको कारण साउदीमा माग बढेको राईको भनाई छ ।
साउदी जानेले त्यहाँको सरकारले नै होटल तोकेर क्वारेन्टाइनको व्यवस्था गरेको राईले बताए । त्यहाँ १०० भन्दा बढी क्वारेन्टाइन तोकिएको र खर्च आफैले व्यहोर्ने भनिएको छ ।
साउदीबाट एक जनाको लागि २१ हजार साउदी रियाल तलबको लागि कम्प्युटर प्रोग्रामरको पनि माग आएको छ । त्यो भनेको नेपाली ७ लाख भन्दा बढी हो । त्यस्ता माग थोरै आउने भएपनि अदक्ष भन्दा पनि अर्धदक्ष तथा दक्ष कामदार बढी लैजान प्रयास गर्नुपर्ने राईको तर्क छ ।
मृत कामदारको शव स्वदेश ल्याउन समस्या
रोजगारीका क्रममा मलेसिया तथा साउदीमा पुगेर निधन भएका नेपाली कामदारको शव ल्याउन स्वदेश ल्याउन निकै समस्या भएको त्यहाँस्थित श्रम काउन्सिलरहरुले जानकारी दिएका छन । अहिले मलेसियामा ५२ जना र साउदीमा २५ जना नेपालीको शव रहेको छ ।
साउदी अरबमा अहिले २५ जना कामदारको शव रहेकोमा वाइडबढी जहाज आएमा २ फ्लाइटमा सबै शव ल्याउन सकिने तर न्यारो बढीका जहाज मात्रै जाने भएका कारण एक फ्लाइटमा बढीमा २ जना वा १ जना मात्रै ल्याउन सकिने गरेका कारण स्वदेशमा मृतक कामदारको शब लैजान ढिलाई भैरहेको श्रम कन्सुलर राईले बताए ।
मलेसियाका लागि श्रम कन्सुलर ढकालका अनुसार अहिले मलेसियामा ५२ वटा शव रहेको छ । हवाई समस्याका कारण शवको क्यू लाग्ने गरेको उनको भनाई छ । हाल सातामा ३ वटा उडान हुने र न्यारोबढी जहाज भएकाले एक पटकमा १ वटा मात्रै शव नेपालमा पठाउन सकेको उनले जानकारी गराए । वाइडबढीले उडाँन भर्ने हो भने एक पटकमा १६, १७ जनाको शव ल्याउँदा करिब ४ उडानमा सबै शव नेपालमा फर्काउन सकिने उनको भनाई छ । मलेसियामा १ वर्षमा १५० जना भन्दा बढी नेपालीको निधन भएको छ ।