कतार भिसा सेन्टरले एकाधिकार लागू गर्न खोजेको भन्दै संघद्वारा आन्दोलनको चेतावनी
- असार २२, २०७८
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) खडा गरी एकाधिकार लागू गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।
कतारमा कामदार पठाउनका लागि पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकोमा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सीमित व्यक्तिहरुको अघोषित मिलेमत्तोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकोले कडा कदम चाल्न बाध्य हुनुपरेको जनाएको छ । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणवद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवहाक अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । कतार भिजा सेन्टर (क्यूभीसी)को आवश्यकता र क्रियाकलापको बारेमा पनि छानबिन हुनुपर्ने अध्यक्ष तामाङकोे भनाइ थियो ।
पत्रकार सम्मेलनमा संघका द्वितीय उपाध्यक्ष कमल देव मल्लले विदेशबाट पठाएको रेमिट्यान्स प्यारो हुने तर वैदेशिक व्यवसायी र युवालाई अपमान गर्न नहुने बताए । लोकतान्त्रिक एसोसिएशनका अध्यक्ष नरेन्द्र ढकालले क्यूभीसीको कारणले व्यवसाय अस्तव्यस्त भएको बताए ।