बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस : अझै ११ लाख बाल श्रमिक रहेको अनुमान

news-details

नेपालले बाल श्रम उन्मूलनमा उल्लेख्य उपलब्धि हासिल गरेको सरोकारवाला निकायले दाबी गरेका छन् । शुक्रबार जुन १२ का दिन विश्व बाल श्रम उन्मूलन दिवसका अवसरमा नेपालस्थित अन्तराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रस्तुत गरिएको केन्द्रीय तथ्याङ्क विभागले गरेको श्रम सर्वेक्षणको प्रतिवेदनअनुसार सन् २००८ मा नेपालमा २६ लाख बाल श्रमिक रहेकामा सन् २०१८ मा त्यो सङख्या घटेर करिब ११ लाखमा झरेको छ । यद्यपि जोखिमयुक्त क्षेत्रमा श्रम गर्ने बालबालिकाको सङ्ख्या अझै करिब दुई लाख छ ।

नेपालमा भएको नीतिगत सुधार र बाल श्रम रोक्नका लागि भएका हस्तक्षेपकारी नीतिले यस्तो सुधार देखिएको दाबी गरिएको छ ।

कर्णाली प्रदेशमा बाल श्रमिक अधिक रहेको र जोखिमयुक्त क्षेत्रमा हेर्दा बागमती प्रदेशमा जोखिमयुक्त क्षेत्रमा बाल श्रमिक बढी भएको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ पछिको विषम परिस्थितिमा २० लाखभन्दा बढीले रोजगारी गुमाएको, गरिबीको सङ्ख्या बढेको अवस्थामा बाल श्रमिकको सङ्ख्या बढ्नसक्ने अनुमान सरोकारवाला निकायले गरेको भए पनि त्यस विषयमा यकिन तथ्याङ्क भने आइसकेको छैन ।

सन् २०१३ मा आईएलओ, युनिसेफ र केन्द्रीय तथ्याङ्क विभागले संयुक्त रूपमा गरेको अध्ययनअनुसार नेपालको इँटा उद्योगमा पाँच लाख बालबालिका रहेका छन् । तीमध्ये ४९ प्रतिशत नेपाली र ५१ प्रतिशत भारतीय बालबालिका रहेका छन् ।

कार्यक्रममा आईएलओका आवासीय प्रतिनिध रिचार्ड होवार्डले श्रम बजारमा कोभिडपछिको अवस्थामा अझ भयावह भएको उल्लेख गर्दै यसले बालबालिकालाई श्रममा धकेल्न सक्ने भएकाले सरकारले तत्काल विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँँले भन्नुभयो, “कोभिडपछिको अवस्थामा बालबालिकालाई श्रममा होइन, विद्यालयमा फर्काउन समाजका सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । ”

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहले २६ वटा स्थानीय तह बाल श्रममुक्त घोषणा हुने क्रममा रहेका र अन्य केहीले पनि त्यसका लागि मन्त्रालयसँगको समन्वयमा विभिन्न कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा बाल संरक्षण विज्ञ उद्धवराज पौडेलले तथ्याङ्कले बाल श्रमिक घटेको देखिए पनि नयाँ क्षेत्रहरूमा बालश्रम देखिनु चिन्ताजनक अवस्था भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रामचन्द्र साघाईले अनौपचारिक क्षेत्रमा बाल श्रमिक बढिरहेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *