नेपालीलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा समेट्न समझदारीपत्रमा हस्ताक्षर
३ लाख नेपाली श्रमिकहरुले लाभ लिन पाउने
- रोजगारमञ्च
- फाल्गुन १८, २०७७
- 0

मलेसियामा कार्यरत नेपालीहरुलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा समेट्नका लागि दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपालका तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोक्सो)का प्रमुख कार्यकारी अधिकृत दातो डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यो समझदारी पछि सोक्सोमा आवद्ध नेपाली श्रमिकहरु मलेसियाको सामाजिक सुरक्षा सुरक्षा कार्यक्रम र गतिविधिमा सहभागी हुन पाउनेछन् ।
गत माघ २६ गते नेपाल सरकारको मन्त्रिपरिषद निर्णय अनुसार समझादारी पत्रमा हस्ताक्षर गर्न अनुमति पाएसँगै मलेसिया र नेपालबीच हस्ताक्षर सम्पन्न भएको हो । कोभिडका कारण बोर्डका तर्फबाट कार्यकारी निर्देशक श्रेष्ठले गत माघ ४ गते समझदारी पत्रमा हस्ताक्षर गरी मलेसिया पठाएपछि सोक्सोका प्रमुख कार्यकारी अधिकृत मोहम्मदले माघ १४ गते हस्ताक्षर गरेका हुन् । नेपाली राजदुतावास क्वालालम्पुरको सकृयतामा यो कार्यक्रममा नेपाली कामदार सहभागी गराउन सफल भएको दूतावासले मंगलबार प्रेस विज्ञप्ती जारी गरेर भनेको छ ।
‘वोर्डको लामो गृहकार्य र निरन्तर छलफलपछि मलेसियामा काम गर्ने नेपालीहरुलाई त्यहाँको सामाजिक सुरक्षा कार्यक्रममा जोड्न सफल भएका छौ’ वोर्डका कार्यकारी निर्देशक श्रेष्ठले भने–‘ मलेसियामा कार्यरत नेपाली श्रमिकहरुका लागि यो कोशेढुंगा हो ।’
मलेसियामा वैधानिक रूपमा रहेका श्रमिकले मात्रै सामाजिक सुरक्षा कार्यक्रमको सुविधा पाउने छन् । मलेसियामा कम्पनी छाडेर गैरकानुनी हैसियतमा काम गर्ने श्रमिकको संख्या ठूलो छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार पहिलेदेखि मलेसियामा रहेका नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने काम भइरहेको र अहिले करीव ३ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध भइसकेका छन् ।
नेपाली दूतावास मलेसियाका अनुसार समझदारी भएको सामाजिक सुरक्षा संस्था (सोक्सो) मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरु भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । तर १ जनवरी २०२० पश्चात भने सबै रोजगारदाताले अनिवार्य रुपमा सोक्सोमा आवद्ध गराउनु पर्ने व्यवस्था छ । हालसम्म ४ लाख भन्दा बढी रोजगारदाता र ७० लाख भन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक सोक्सोमा आवद्ध भइसकेका छन् । मलेसियाभर सोक्सोका ५४ कार्यालयहरु रहेको दूतावासले जनाएको छ ।
सोक्सोमा आवद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको निम्ति उसले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्छ । यो कार्यक्रम तथा योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सो वापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ ।
सामाजिक सुरक्षा योजना अनुसार श्रमिकलाई विभिन्न सुविधा उपलब्ध हुने जनाइएको छ । जसअन्तर्गत स्वास्थ्य लाभ, अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रित लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च, पुर्नस्थापना सुविधालगायत गरेर वर्गीकरण गरिएको छ ।
यस्ता सुविधा तथा लाभहरु कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभहरुका निम्ति सोक्सोले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको नेपाली दूतावासले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
सोक्सोका सुविधा तथा लाभ पाउनका लागि विभिन्न प्रकृयाहरु रहेको जनाइएको छ । कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले पंच कार्ड वा उपस्थिति रेकर्ड, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपि सहित दुर्घटना रिपोर्ट फाराम भरेर सोक्सो कार्यालयमा पेश गर्नुपर्छ । यदि दुर्घटना काममा आउँदा वा कामबाट फर्कंदा भएको छ भने यी कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्ने भनिएको छ ।
कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगवाट पीडित भएका श्रमिकहरुका लागि सोक्सोसंग आवद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा उपलब्ध हुने जनाइएको छ छ । पूर्ण रुपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरु तोकिएको मेडिकल बोर्डको सिफारिशका आधारमा निरन्तर उपस्थिति भत्ताका हकदार हुने व्यवस्था गरिएको छ ।
मृत्यु भएका श्रमिकहरुको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराने बताइएको छ । अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने छन् । कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ । अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आय आर्जन तोकिएका शर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने जनाइएको छ ।
आश्रित लाभ अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ । मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था छ । यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था सोक्सोमा रहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।
समझदारी पश्चात मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई प्रभावकारी तुल्याउनका निम्ति सामाजिक सुरक्षा वापतका लाभहरुको प्रवाह, विचारको आदान प्रदान तथा श्रमिक तथा सरोकारवालाहरुको सचेतीकरणका मुद्दाहरुमा दुवै देशवीच सहकार्यको अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।