भिजिट भिसामा महिला विदेश जाँदा सिफारिस अनिवार्यको निर्णय भएको छैन : अध्यागमन विभाग

अध्यागमन कार्यबिधी संशोधन हुँदै
news-details

भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ ।

पछिल्ला केही दिनयता ४० बर्षभन्दा कम उमेरका महिला पहिलो पटक भिजिट भिसामा जाँदा अनिवार्यरूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विषयमा भएको चर्चाको विषयमा विभागको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी टेकनारायण पौडेलले उक्त विषयमा कुनै पनि निर्णय नभएको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन् ।

‘हाल विभिन्न सञ्चारमाध्यममा आएजस्तो नभई खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने गरी छानबिन समितिका सुझावका अनुसार छलफल भएको तर कुनै निर्णय भएको छैन’ पौडेलले रोजगार मञ्चलाई जानकारी दिए ।

उनले निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय गर्ने समेत बताएका छन् ।

रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा अध्यागमन विभागले छलफल गरेर प्रस्ताव गरेको सूचना अधिकृत पौडेलको भनाई छ ।

पछिल्लो समय खाडी मुलुक युएइमा भिजिट भिसामा गएर अर्को मुलुक जान खोज्ने अनि समस्यामा पर्ने जस्ता घटना बढेकाले विभागले चासो देखाएको हो ।
अध्यागमन कार्यविधि २०६५ मा भिजिट भिसामा जानका लागि होटल बुक गरेको प्रमाण, दुईतर्फी हवाई टिकट, स्पोन्सरसिप लेटर र एकहजार अमेरिकी डलर आवश्यक पर्ने उल्लेख छ ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि रु १५ लाख बराबरको जीवन बीमा अनिवार्य गर्ने तयारी गरेको छ । त्यसैगरी डलरसटहीको प्रमाण, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्ने बताइएको छ ।

भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ रोक्ने मुख्य जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको हो । तर, मानव तस्करहरुले विमानस्थलमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ ।

सरकारले कोरोनाको कारण संस्थागत वैदेशिक रोजगार पूर्णरुपमा खुल्ला नगर्दा भिजिट भिसामा चर्को पैसा बुझाएर रोजगारमा जानेको चाप बढेको छ । घुम्न जाने नेपालीहरु अरुको प्रलोभनमा नपरी त्यहाँ गएर अलपत्र नपरुन भन्ने विभागको उद्देश्य छ ।

भिजिट भिसामा वैदेशिक रोजगारमा जान हुँदैन भन्ने जान्दा जान्दै हामफाल्ने युवाहरुमा जनचेतनाको अभावभन्दा पनि विदेशको मोह र लोभ बढि देखिन्छ । अतः अहिलेको अवस्थामा भिजिट भिसामा वैदेशिक रोजगारको बाटो रोज्नै हुँदैन । दलाल तथा गिरोहहरुले फसाउनका लागि विभिन्न प्रलोभन तथा आकर्षण देखाउन सक्दछन् । भिजिट भिसाको चक्करमा लागेर आफु पनि फस्न हुँदैन अरुलाई पनि फस्नबाट जोगाउनु पर्छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *