भिजिट भिसामा कडाइ: खाडी मुलुक जान महिलालाई पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य

news-details

अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने लगायत केही नयाँ प्रावधान ल्याउन प्रस्ताव गृहमन्त्रालयमा पठाईएको जानकारी दिनुभयो ।

साथै उक्त प्रस्तावमा विदेश जानेहरुको हकमा १५ लाखको बीमा र एक हजार डलर अनिवार्य लिएर जानु पर्ने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाहरुको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केहि नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागु नभएर जोखिम मुलुकमा लागु गर्न खोजिएको विभागको भनाई छ ।

साथै पटक–पटक विदेश जाने र आउने गरेका महिलाहरुको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पार्नु भयो । विभागले सरोकारवाला निकायसंग छलफल गरि उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साता अघि मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उहाँले बताउनुभयो ।भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्ने छ ।

कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागिदार बनाउने विभाग भनाई छ ।घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ ।

पछिल्लो समय खाडी मुलुकको युएइमा भिजिट भिसामा गएर अर्को मुलुक जान खोज्ने अनि समस्यामा पर्ने जस्ता घटना देखा पर्ने गरेका छन् ।

सरकारले कोरोनाको कारण समस्यामा परी स्वदेशमा उद्वार गर्ने सबै भन्दा बढी नेपाली युएईबाट रहेको छ । घुम्न जाने नेपालीहरु अरुको प्रलोभनमा नपरी त्यहाँ गएर अलपत्र नपरुन भन्ने विभागको उद्देश्य रहेको महानिर्देशक केसी बताउनुहुन्छ । कामदार भिसामा पठाउँदा हाल कोरोनाको कारण प्रक्रिया लामो हुने भएकाले केही कम्पनीले पनि युएईमा भिजिट भिसामा पठाउने गरेको सूचना समेत आइरहेको विभागको भनाइ छ ।

त्यसैलाई मध्यनजर गरेर वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले समन्वय गरेर वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, शैक्षिक परामर्श कम्पनीलगायतमा निगरानी बढाइएकाले भिजिटमा जानेकोे संख्या कम भएको अध्यागमन विभागका महानिर्देशक केसी बताउनुहुन्छ ।

विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।

पछिल्लो समय मानव तस्करी संगै विदेशमा शोषणमा पर्ने नेपालीको सख्या बढेको भन्दै यो नयाँ नियम लागु भए विदेशमा समस्या परे उद्धार गर्न सजिलो हुने विभागको ठहर छ ।  प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरोले भिजिट भिसामा लगेर दलालहरुले अलपत्र पार्ने गरेको घटना बढेको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *