अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस : कामदारको अधिकार खोज्न दवाव
- रोजगारमञ्च
- पुस ३, २०७७
- 0

हरेक वर्ष विश्वभर १८ डिसेम्बरमा मनाइदै आएको अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस शुक्रवार औपचारिक कार्यक्रम नभए पनि विभिन्न तरिकाबाट मनाइराखिएको छ । कोभिडको महामारीका कारण औपचारिक कार्यक्रम नराखेको सरकारले यो दिवशका अवसरमा शुभकामना सन्देश भने दिएको छ ।
सरकारी तथा गैरसरकारी निकायले विगतमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइरहँदा १८ डिसेम्बर अर्थात शुक्रवार मूख्य दिनमा श्रमिक अधिकारकर्मी तथा संघसंस्थाले विभिन्न भर्चुअल कार्यक्रम गर्दै आप्रवासी कामदारको अधिकार रक्षाको माग राखेका छन् । कोभिड महामारीमा श्रमिकको अधिकार हनन् हुन सक्ने औल्याउँदै अधिकारकर्मीहरुले श्रमिकको न्यूनतम अधिकार बञ्चित हुन नदिन दवाव दिनु पर्ने औल्याएका छन् ।
आप्रवासी कामदार दिवसका अवसरमा श्रमिक पक्षमा सबैले ध्यान दिनु पर्ने र श्रमिकका अधिकारका लागि ठोस निष्कर्ष निकाल्न सरोकारवालाले जोड दिएका छन् ।
आप्रवासी कामदार दिवशको अवसरका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले शुभकामना सन्देश दिदै श्रमिकको अधिकारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले सन्देशमा भनेका छन्–‘ आन्तरिक श्रम बजारमा आउने श्रमशक्तिलाई स्वदेशमा रोजगारका अवसर उपलब्ध गराउन सरकार प्रतिवद्ध छ ।’ मन्त्री रायले भनेका छन्–‘ वैदेशिक रोजगारलाई सबैले अनुभुति गर्न सक्ने गरी सुरक्षित, मर्यादित र तुलनात्मकरुपमा बढि लाभदायी बनाउन सरकार गम्भिरतापूर्वक अगाडि बढेको छ ।’
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्रा्ष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
रोजगारीका लागि विदेशिने कामदारका हकअधिकार र संरक्षणको आवाज उठाउदै यो दिवस मनाउने गरिए पनि आप्रवासी कामदारका हकहितका लागि अहिलेसम्म उल्लेख्य प्रगति केहि हुन सकेको छैन ।
कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएका छन् ।