सांसद लिम्बूको संयोजकत्वमा वैदेशिक रोजगारी सम्बन्धि छानबिन गर्न संसदीय उपसमिति गठन
- रोजगारमञ्च
- पुस २, २०७७
- 0
वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता, सिण्डिकेट र भिजिट भिसिामा कामदार पठाउने विषयमा रहेका समस्याको छानबिन गर्न सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सांसद लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको हो ।
समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका समस्या, कामदार पठाउने सन्दर्भमा हुने गरेका सिण्डिकेट, भिजिट भिसामा कामदार पठाउने विषयमा रहेका समस्याहरुको समधानका सन्दर्भमा अध्ययन अनुसन्धान र छानबिन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न म्याण्डेट दिइएको छ ।
समितिमा सांसद कृष्णकुमार श्रेष्ठ (किसान),अमृता अग्रहरी, दुर्गाकुमारी विश्वकर्मा र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् । समितिले वैदेशिक रोजगारको क्षेत्रमा रहेका विकृति, विसंगति, समस्या, ठगी र समग्र विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्ने समितिका संयोजक लिम्बूले बताए ।
लिम्बू वैदेशिक रोजगार क्षेत्रका जानकार हुन् । उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत हुन् ।
समितिले वैदेशिक रोजगारीमा ठगिएको भनी समितिमा प्राप्त भएका निवेदनहरु सम्बन्धित निकायमा आवश्यक कारबाहीको लागि पठाउने र वैदेशिक रोजगारीमा निरन्तर भइरहेको ठगी नियन्त्रणका लागि समितिले सम्बन्धित निकायका पदाधिकारीलाई अर्को बैठकमा बोलाउने निर्णय समेत गरेको छ ।
पछिल्लो समय वैदेशिक रोजगारका समस्या बढेको र लिम्बूको संयोजकत्वमा बनेको समितिले फलदायी निचोड निकाल्नेमा सरोकारवाला क्षेत्र आशाबादी छन्