कतार प्रहरीको अन्तर्वार्तामा दूतावासको संलग्नता छैन, अवसर राम्रो हो : राजदूत यूसुफ

news-details

कतार प्रहरीका लागि आकर्षक रोजगारीका नाममा केही दिनदेखि भइरहेका गोप्य अन्तर्वार्तामा नेपालस्थित कतारी दूतावासको संलग्नता नरहेको राजदूत युसुफ बिन मोहम्मद अल हैलले बताएका छन् ।

लाजिम्पाटस्थित होप इन्टरनेसनल मेनपावरमा मंगलबार अन्तर्वार्ता भइरहँदा दूतावासको गाडि भेटिएको थियो । ‘कतारी डेलिगेट्स नेपाल आउँदा दूतावासले गाडी र ड्राइभर उपलब्ध गराउने नियम नै छ,उहाँहरु कहाँ जानुभयो मलाई थाहाभएन’ राजदूत युसुफले रोजगार मञ्चलाई भने –‘ रिक्रुटिङ प्रकृयामा दूतावासको कुनै संलग्नता हुँदैन ।’

यता वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मार्न जाँदा कुटनैतिक नियोगको गाडि प्रयोग गरेर कतारीहरु अन्तर्वार्ता लिइरहेको भेटेको थियो । मेनपावर कम्पनीले विभागबाट डिमाण्डको पुर्व स्वीकृतिनै नलिई कतार पुलिसमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिंदालिंदै गर्दा छापा मारेको विभागले जनाएको छ ।

राजदूत युसुफले कतारमा धेरै राम्रो पारिश्रमिक र सेवासुविधा उपलब्ध हुने सुरक्षा गार्डका लागि नेपाली कामदार लैजानका लागि आफैले सरकारी पहल गरेको बताएका छन् । उनले भने–‘ फ्री भिसा फ्री टिकटसहित सरकारी सुरक्षा गार्डमा नेपालीहरुको माग रहेको छ, नेपालीहरु उक्त कामका लागि योग्य भएकाले पहल गरिएको हो, तर नेपालको सरकारी प्रकृया पुरा गर्नु पर्ने नेपाल पक्षको विषय हो, हामीलाई थाहा हुने कुरा भएन ।’

राजदूत युसुफले नेपालीहरुको राम्रो अवसरका लागि गरिएको प्रयासलाई अनावश्यक हल्ला नगर्न र यो अवसर नगुमाउन समेत आग्रह गरेका छन् । उनले नेपालका अनुमति प्राप्त सबै सक्षम मेनपावरहरुले काम गर्न सक्ने भएकाले कुनै सिण्डिकेट नहुने बताएका छन् । उनले नेपाल सरकारका सबै कानूनी प्रकृया पुरा गरेर मात्र रिक्रुटिङ प्रकृया थाल्न मेनपावरहरुलाई आग्रह गरेका छन् । यस विषयमा कुनै पनि गोप्यता तथा अनैतिक कार्य भए दूतावास पनि कारवाहीका लागि सहयोग गर्ने राजदूतको भनाई छ ।

मेनपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको पुर्व सूचनाका आधारमा विभागको आकष्मिक अनुगमन गरेको छापा मारेको थियो । मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै प्रि अन्तरवार्ता लिइरहेको अवस्थामा तीन मेनपावर अन्तर्गत एसओएस मेनपावर सर्भिस, डिडी ओभरसिज र होप इन्टरनेशनलमा छापा मारिएको विभागका अधिकृत कुशल बरालले दिए ।

यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार पुलिसको नाममा भईरहेको गोप्य अन्तर्वार्ताको विरोध गर्दै कानूनी प्रकृया अनुसार चल्न व्यवसायीहरुलाई आग्रह गरेर एक विज्ञप्ति जारी गरेको छ । यता अन्तर्वार्ता दिन पुगेका युवाहरु अन्तर्वार्ता दिन नपाएको भन्दै आक्रोषित बनेका थिए ।

वैदेशिक रोजगारका लागि अन्तर्वार्ता लिनका लागि मेनपावर कम्पनीले कामदारको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनुपर्छ । साथै त्यस डिमाण्डको लागि अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ । सो पश्च्यात मात्रै अन्तर्वार्ता लिन पाउने प्रावधान छ । कानूनी प्रकृया पुरा गर्ने हो भने कतार प्रहरीको डिमाण्ड नेपालीहरुका लागि निकै आकर्षक र फलदायी हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *