कतार सरकारले मेनपावरको छनौट गरेको छैन, हल्लाको पछि नलागौं : राजदूत युसुफ

news-details

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलले नेपाली कामदार कतार पठाउनका लागि कतार सरकारले मेनपावरको छनौट नगरेको बताएका छन् । कतार सरकार कुनै पनि सिण्डिकेटको पक्षमा नरहेकाले इजाजत प्राप्त सबै मेनपावरले कतार रोजगारीमा पठाउन पाउने राजदूत युसुफको भनाई छ ।

श्रम गन्तव्य मुलुक कतारमा कामदार पठाउन १६ वटा मेनपावरले मात्र सिन्डिकेट गर्न लागेको अनधिकृत लिष्ट बाहिरिएपछि राजदूतले कतार सरकारले कुनै पनि मेनपावर छनौट नगरेको रोजगार मञ्चको भेटमा जानकारी दिए ।

‘कतार सरकार कुनै पनि सिण्डिकेटको पक्षमा छैन, अहिले बाहिर आएको लिष्टका बारेमा कतार सरकारलाई कुनै जानकारीसमेत छैन’–राजदूत युसुफले रोजगार मञ्चलाई भने–‘ तपाईहरुले कहाँबाट मेनपावरको लिष्ट पाउनुभयो, हामीलाई चै थाहा नै छैन ।’

केही मेनपावरहरुले निराधार हल्ला फैलाएको बुझाई राजदूत युसुफको छ । ‘केही मेनपावरहरुले नबुझेर नै कतार भिसा सेन्टर (क्यूभिसी)को विरोध गरेका थिए, अहिले तिनै मेनपावरहरुले आधारहीन हल्ला गरेका हुन्, यसमा कुनै सत्यता छैन’ राजदूत युसुफले प्रष्ट पारे । राजदूत युसुफले आफुले पनि लिष्ट हेरेको तर त्यहाँ कुनै आधिकारिक हस्ताक्षर, छाप वा लेटरहेट नभएकाले भ्रममा नपर्न आग्रह गरे ।

कतार पठाउनका लागि १६ वटा मेनपावरको लिष्ट बाहिरीएको हल्ला फैलिएसँगै नेपाल वैदेशिक वैदेशिक रोजगार व्यवसायी संघले संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी दिएका थिए । सोमबारको श्रम मन्त्रालयका अधिकारीहरु समेत उपस्थित बैठकमा कतारको रोजगारीका सीमित व्यवसायीले सिन्डिकेट गर्न लागेको सम्बन्धमा छानविन गर्न समितिले सरकारलाई निर्देशन दिएको थियो ।

समितिले १६ वटा म्यानपावर संगठित भई कतारको रोजगारीमा सिन्डिकेट गर्न लागेको सम्बन्धमा छानबिन गरी ७ दिनभित्र सत्यतथ्य जानकारी सहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

कतारको रोजगारीमा सीमित मेनपावरको सिन्डिकेटको प्रयास भएको हल्लापछि वैदेशिक रोजगार व्यवसायीहरु सशंकित बनेका छन् । ‘बजारमा आएका हल्लाको आधिकारिकता पत्ता लगाउने र सही केहो भनेर छाबिन गर्न समिति बनिसकेको छ, संघले कुनै पनि सिण्डिकेट लागु गर्न नदिने र प्रतिरोध गर्ने निर्णय गरेकोछ’ संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताए ।

१६ वटा मेनपावरको लिष्टमा नाम आएका केही मेनपावरले आफ्नो संलग्नता नरहेको बताएका छन् । ‘हामीलाई केही थाहा छैन, एक्कासी नाम आउँदा पो थाहाभयो, हामी सिण्डिकेटको पक्षमा छैनौ र गर्दैनौ’ छनौटमा परेका भनिएका एक मेनपावर व्यवसायीले बताए ।

 

 छानबिन गर्न महानिर्देशक दहालको नेतृत्वमा ५ सदस्यीय समिति

कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

समितिमा परराष्ट्र मन्त्रालयका उपसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव भोलानाथ गुरागाई, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका एक जना प्रतिनिधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार शाखाका उपसचिव सदस्य रहने जनाइएको छ । समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

फ्रि भिसाको विवादका कारण मलेसियाको रोजगारी बन्दहुँदै खुल्दै गरेपछि कतार अहिले नेपालको प्रमुख श्रम गन्तव्य बनेको छ । हाल नेपाल सरकारबाट स्वीकृति प्राप्त ८ सय ५४ वटा मेनपावर व्यवसायीले कतारमा कामदार पठाउनसक्ने व्यवस्था छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *