श्रम मन्त्रालयको कार्य प्रगति ७५ प्रतिशत, अपेक्षाकृत सफलता : मन्त्री यादव

news-details

आर्थिक बर्ष २०७६/७७ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ । गत मंशिरमा श्रम मन्त्रालयको जिम्मेवारी संहाल्न आएका मन्त्री रामेश्वर राय यादवले असहज परिस्थितिमा समेत अपेक्षाकृत काम गर्न सफल भएको बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर ३ महिने कार्ययोजना प्रस्तुत गरेका मन्त्री यादवले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारलाई रोजगारी दिने बताएका थिए ।

गएको आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा धेरै जनाले रोजगारी पाएका छन् । आर्थिक वर्ष २०७६र ७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार ६ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय स्तरमा छनोट भएका योजनामा बेरोजगारको सूचीमा सूचीकृतहरुले यो रोजगारी प्राप्त गरेका हुन् ।

मन्त्रालयले गएको आर्थिक वर्षमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको पनि जनाएको छ । विभिन्न ११ वटा आयोजनाहरुका लागि ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन अर्ब ८ करोड ३९ लाख रुपैयाँ चालुतर्फ र पूँजीगतर्फ ५ करोड ८१ लाख खर्च गरेर समग्रमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जम्मा ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ भने मन्त्रालयको बेरुजु फछ्यौंट पनि ५५.५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको जनाएको छ ।

यद्यपी मन्त्री यादवले सबै श्रमिकलाई जोड्न श्रमिक बैंक, वैदेशिक रोजगारी अनलाइन प्रणालीदेखि गन्तव्यदेशसँग श्रम समझदारी, आन्तरिक श्रममा सुधार, सामाजिक सुरक्षा कोषमा थप एक लाख श्रमिक, सीप र तालिम संचालन गर्ने बताएका थिए ।

कोभिड १९ का कारण मन्त्रालयको ध्यान विदेशमा रहेका नेपाली स्वदेश फर्काउने, स्वदेशमा व्यवस्थापन गर्नेलगायतका काममा केन्द्रित भएको जनाइएको छ । श्रम मन्त्री यादवले कोरोना महामारीका बेलामा पनि सन्तोषजनक प्रगति हासिल भएको बताएका छन् । ‘हामी हल्ला नगरी काम गरिरहेका छौ, नकारात्मक मात्रै खोज्नेहरुलाई हामी कामले जवाफ दिन्छौ’ मन्त्री यादवले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *