मेनपावर व्यवसायीका समस्यासँग एक भएर जुध्न संघले थाल्यो अभियान

राष्ट्र वैकले भन्यो–‘कोभिड १९ ले मेनपावर अतिप्रभावित क्षेत्र’
news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मेनपावर व्यवसायीहरुका समस्यासँग जुध्न सबै एकभएर अगाडि बढ्ने अभियान थालेको छ । कोभिड १९ बाट थलिएका मेनपावर व्यवसायीहरु आफ्ना समस्या समाधानमा एक हुन लागेका हुन् ।

संघको नेतृत्वमा नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनसँग ब्यवासायिक मुद्धामा एकबद्ध भएर आगाडी बढ्ने सहमति भएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले वैदेशिक रोजगार क्षेत्रमा पार्ने अल्पकालीन तथा दीर्घकालीन समस्याहरुको समाधान गर्न संघले प्रगतिशिल मञ्च र लोकतान्त्रिक एशोसिएशन छलफल प्रारम्भ गरेको हो । संघले सोमबार प्रगतिशील मञ्चका नवगठिन कार्यसमितिसँग छलफल गरेर व्यवसायिक मुद्धामा एक हुन सहमत भएको महासचिव श्रेष्ठको भनाई छ ।

संघले सोही कार्यक्रममा मञ्चका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको थियो । छलफलमा सहभागी मञ्चका संयोजक राम प्रसाद भान्तनाले कोभिडका कारण उत्पन्न मेनपावर व्यवसायीका समस्या समाधानका लागि व्यवसायिक मुद्धामा एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

कोभिड १९ का कारण कतिपय रोजगारदाताहरु नै संकटमा परेको, रोजगारदाताहरुलाई सम्वन्धित देशका सरकारले कामदारहरुसँग छलफल गरी तलवी वा बेतलवी विदामा राख्ने अनुमति दिएको अवस्थामा समेत कामदारको पारिश्रमिकलगायतका सेवा सुविधा दिलाउने र स्वदेश फिर्ताको जिम्मेवारी मेनपावरको हुने भर्खरै जारी निर्देशिका २०७७ उल्लेख भएकोमा संघले आपत्ती जनाएको छ ।

उक्त निर्देशिकामा अलपत्र परेका कामदारलाई स्वदेश फिर्ताका लागि हवाई टिकटका लागि पहल गर्ने र कामदारले रोजगारदाताबाट पाउनुपर्ने पारिश्रमिकलगायतका सुविधा दिलाउने दायित्व ईजाजतपत्र प्राप्त संस्थाको हुने उल्लेख गरिएको छ ।

कोभिड १९ का कारण मेनपावर अतिप्रभावित क्षेत्र

नेपाल राष्ट्र वैंकले कोभिड १९ का कारण वैदेशिक रोजगार सेवा प्रदायक संस्था (मेनपावर) अति प्रभावित क्षेत्र तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्र तोकेको हो ।

मौद्रिक नीतिमा कोभिड १९ बाट न्यून प्रभावित, मध्यम प्रभावित र अति प्रभावित क्षेत्र गरेर वर्णिकरण गरिएको छ । न्यून प्रभावित क्षेत्रका ऋणीलाई ६ महिना, मध्यम प्रभावितलाई ९ महिना र अति प्रभावितलाई १ वर्ष समय थप गरिएको छ । भुक्तानी गर्ने ऋणीबाट कुनै पनि किसिमको पेनाल ब्याज र शुल्क र हर्जाना र ब्याजको ब्याज लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।

अव वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसाय सञ्चालका लागि लिएको ऋणको गत वर्ष असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवाको किस्ता र व्याज २०७८ असार मसान्तसम्म तिर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिपछि उक्त बैंकबाट ईजाजतपत्र लिएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनमा उक्त व्यवस्था गरिएको छ ।

निर्देशनमा वैदेशिक रोजगार व्यवसायलाई ट्रेकिङ ट्राभल एजेन्सी, पर्वतारोहण, टुर अपरेटर, क्यासिनो, मसाज, स्पा, साहसिक पर्यटन, हवाई तथा पर्यटकीय यातायात, रिक्रिइसन सम्वन्धी व्यवसाय, चलचित्रलगायत अति प्रभावित क्षेत्रमा पारिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *