विदेशमा अलपत्र नेपालीको साउन ६ गतेसम्म थप ४२ उडान हुने

news-details

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले तेस्रोपटक बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान गर्ने भएको छ । सरकारले असार २८ गतेदेखि चार्डर उडान स्थगन नगरी एक साताका लागि उडान तालिका थपेको हो ।

आगामी असार ३१ गते बुधबारदेखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार, युएई, दुबई, अबुधाबी, साउदी अरबको दमाम, रियाद, कुबेत, कतार, बहराइन, सारजाह र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

यद्यपी सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट निशुल्क ल्याउने कार्यबिधी अझै पास गर्न सकेको छैन । जसलेगर्दा विदेशमा समस्यामा परेका तथा अलपत्र परेका नेपालीहरु अझै स्वदेश आउन सकेका छैनन् ।

सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा तेस्रोपटकको उद्धार उडान तालिका सार्वजनिक गरेको हो ।

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन (असार २८) हो ।

सीसीएमसीले ६ वटा मुलुकका १० वटा विमानस्थलबाट नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६ वटा गरी ३२ वटा उडान गर्ने अनुमति दिएको छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत यसपटक एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले जेठ २८ देखि बुधबारसम्म २४ वटा मुलुक हुँदै १ सय ५९ वटा उद्धार उडानबाट कम्तिमा २६ हजार नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *