नेपाल सरकारले तोकेको भन्दा सस्तो टिकटमा ओमानबाट दोश्रो उडानबाट १४७ नेपाली स्वदेश आएका छन् । नेपाली दूतावास ओमानको पहलमा सलाम एयरले उनीहरुलाई सस्तो हवाई भाडामा स्वदेश ल्याएको हो ।

सलाम एयरको फ्लाइट नम्बर ओभी ४२७ जहाजबाट ११० जना पुरुष र ३७ जना महिला स्वदेश पठाइएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् । फर्कने सबैको साथमा पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट छ । उनीहरु विमानस्थल र होल्डिङ सेन्टर हुँदै सीधै होम क्वरेण्टीनमा जान सक्ने दूतावासले जनाएको छ ।

दूतावासका कर्मचारी र राजदूत ढकाल आफैं स्वदेश फर्कने नेपालीको सहजताका लागि विमानस्थल पुगेका थिए । राजदूत आफैले विमानस्थलमा पुगेर नेपालीलाई विदाई गरेकी थिइन् ।

ओमानबाट दोश्रो पटक १४७ नेपाली काठमाण्डौ आए, राजदूत ढकालले गरिन् विदाई

‘समस्यामा परेका नेपालीलाई केही सहयोग होस् भनेर मैले सलाम एयरसँग प्रत्यक्ष कुरा गरेर भाडादर घटाउन अनुरोध गरेको हुँ,’ राजदूत पराजुलीले भनिन् , ‘सरकारको भाडादर खारेज गरेको होइन, दूतावास राज्यकै निकाय हो, केही भाडादर घटाएर राज्यलाई नै सहयोग गरेको हुँ ।’

दूतावासले सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ओमानबाट नेपालीलाई स्वदेश फर्काएको हो । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार ४ सय २३ रुपैयाँ तोकेको छ । यो भाडादर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो । सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ८१६ रुपैयाँ हो ।

यसअघि पहिलो उडान मार्फत गत असार एक गते १६६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

ओमानबाट दोश्रो पटक १४७ नेपाली काठमाण्डौ आए, राजदूत ढकालले गरिन् विदाई

बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली राजदुतको उक्त कदमप्रति स्वदेश आइपुगेका नेपालीले आभार व्यक्त गरेका छन् ।

नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।