काठमाडौंको सामाखुसी क्षेत्र आसपास रहेका वैदेशिक रोजगार व्यवसायीहरुले पछिल्लो समय देखापरेको रगतको अभावलाई थोरै भएपनि सघाउने उद्देश्यले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन ।

वैदेशिक रोजगार व्यवसायी एकता समिति, भिजन एण्ड भ्यालु ओभरसिज, नेपोलियन मेडिकल, नेपाल रक्तसंचार केन्द्र र रेडक्रसको संयुक्त आयोजनामा गोगबुमा आयोजित उक्त रक्तदान कार्यक्रममा मेनपावर कम्पनीका संचालक तथा कर्मचारी र स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको एकता समितिका अध्यक्ष हरि पाण्डे क्षेत्रीले बताए ।

रगत अभावमा सहयोग गर्न मेनपावर व्यवसायीहरुद्धारा रक्तदान

‘कोरोना संक्रमणको त्रासकाबीच अस्पतालहरुमा रगत अभावका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था देखिएपछि हामीले सयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हौ’ पाण्डेले भने –‘एकता समितिले देशमा आइपरेका विभिन्न विपतिमा सहायता उपलब्ध गराउने कामदेखि यस्ता कार्यक्रमहरु गर्दै आएको छ, आगामी दिनमा पनि हामी यस कार्यलाई निरन्तरता दिनेछौ ।’

रगत अभावमा सहयोग गर्न मेनपावर व्यवसायीहरुद्धारा रक्तदान

यस्तै आयोजक संस्था मध्येको भिजन एण्ड भ्यालु ओभरसिजका संचालक पदमराज पौडेलले आफ्नो संस्थाले विगतदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिदै अहिले कोरोना संक्रमणका कारण ब्लड बैंकहरुमा रगतको चरम अभाव भएको पाइएपछि रक्तदान कार्यक्रमलाई अझ बृहत बनाउन यस पटक एकता समिति र अन्य संस्थाहरुसँगको समन्वयमा गरिएको बताए ।

पौडेलले कोरोना संक्रमणको त्रासका कारण अहिले विश्व नै आक्रान्त भएको अवस्थामा विदेशमा रहेका नेपालीहरुको सुरक्षा र उनीहरुको सहायताका लागि वैदेशिक रोजगार व्यवसायीहरुमा थप चिन्ता थपिइरहेको बताए ।

रगत अभावमा सहयोग गर्न मेनपावर व्यवसायीहरुद्धारा रक्तदान

‘अहिले मेनपावर कम्पनीहरु ठप्प भएपनि आफुले पठाएका कामदारहरुसँग अपडेटमा रहन मैले कुनै पनि कर्मचारीलाई विदा नदिएर राखेको छु’ पौडेलले भने –‘विदेशमा रहेका रोजगारदाता तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग अहिले नियमित सम्पर्क गरिरहेका छौ, सबै मेनपावर व्यवसायीहरुले पनि यसरी नै आफुले पठाएका कामदारको अवस्थाबारे अपडेट लिन आग्रह गर्दछु ।’

कार्यक्रममा रक्तदाताहरुलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले प्रमाणपत्र प्रदान गरेका थिए ।