लोकतान्त्रिक फोरम नेतृत्वका ६ आकांक्षीको आआफ्नै दावी

नरेन्द्र, भुवनसिंह, सीता, ऋषि, देवी र तारानाथको प्रतिष्पर्धा
news-details

नेपाली काँग्रेस समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको साझा संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी देखिएका छन् । ६ जना आकांक्षीले नै नेतृत्वको लागि आआफ्नो पक्षमा दावी गरिरहँदा अग्रज तथा पार्टी नेताहरुलाई छनौट गर्न सकस परेको छ ।

फोरमको दशौं साधारणसभा पश्चात हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ । माघ २४ गते अनुपम फुडल्याण्डमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने फोरमको साधारणसभा पश्चात नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको फोरमका कार्याबाहक अध्यक्ष सुजित श्रेष्ठले जानकारी दिए ।
फोरमले आइतबारसम्म साधारणसभा तथा निर्वाचनमा भाग लिन आफ्नो सदस्यता नवीकरण गर्न वा नयाँ सदस्यता लिन आग्रह गरेकोमा ३ सय ४० ले दर्ता गरेको फोरमले जनाएको छ ।

साधारणसभाको तयारीसँगै नेतृत्वका आकांक्षीहरुको सक्रियता अनपेक्षित रुपमा बढ्दा नेतृत्वका लागि ६ जना व्यवसायीको नाम आएको हो । अध्यक्षका लागि फोरमका पूर्व वरिष्ठ उपाध्यक्ष नरेन्द्र प्रसाद ढकाल, नेपाल वैदेशिक रोजगार संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिं गुरुङ, फोरमका पूर्व वरिष्ठ उपाध्यक्ष ऋषि शर्मा, फोरमकी सल्लाहकार सिता देवाकोटा, फोरमका उपाध्यक्ष देवी काफ्ले र वर्तमान महासचिव तारानाथ अर्यालले नेतृत्वका लागि दावी गरिरहेका छन् ।

अध्यक्षका आकांक्षी नरेन्द्र ढकालले आफु स्वत दावेदार भएको बताएका छन् । फोरमको सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भइसकेका ढकालले अघिल्लो कार्यकालमा अध्यक्षका नै प्रतिष्पर्धी थिए । उनी सबै आकांक्षीलाई भन्छन्–‘सबै सक्षम हुनुहुन्छ तर मलाई एकपटक नेतृत्वमा रहेर काम गर्ने अवसर दिनुहोला, सबै व्यवसायीलाई मिलाएर व्यवसायिक हकहीतका लागि काम गरेर देखाउनेछु ।’

अध्यक्षकी आकांक्षी सीता देवकोटाले फोरम स्थापना भएदेखि हालसम्म महिला व्यवसायी अध्यक्ष नभएकोले यस पटक महिलाले पालो पाउनु पर्ने बताएकी छिन् । अर्का आकांक्षी भुवन गुरुङले आफूले निरन्तररुपमा संघमा भूमिका खेलेको र संघको निर्वाचनमा आफू अध्यक्षको उम्मेदवार नभई आफ्नो प्यानलको जितका लागि त्याग गरेकोले अहिले सर्वसम्मत रुपमा फोरमको अध्यक्ष बनाउनु पर्ने बताएका छन् ।

फोरमका उपाध्यक्ष देवी काफ्लेले नेतृत्वका लागि आफ्नो पालो आएको बताएका छन् । उनी भन्छन्–‘ सबै अग्रज तथा नेतृत्वका आकांक्षीले मलाई सर्वसम्मत बनाउनु हुन्छ भन्नेमा ढुक्क छु ।’

फोरमका वर्तमान महासचिव अर्यालले फोरममा समन्वयकारी भूमिका खेल्न आफू सक्षम रहेको भन्दै अध्यक्षमा दावी गरेका छन् । फोरमका पूर्व बरिष्ठ उपाध्यक्ष ऋषि शर्माले आकांक्षा देखाएर उम्मेदवारी घोषणा गरेका छन्।

अहिले व्यवसायीका माग तथा आवाज सरकार समक्ष पु¥याउन, एक सयको सीमा हटाउन, सेवाशुल्क निर्धारण गर्न तथा व्यवसायिक एकताका लागि काम गर्न नेतृत्वमा जान लागेको बताएका छन् ।

फोरममा सहमतिका लागि पार्टीका नेता तथा पूर्व अध्यक्षहरुले कसरत गरिरहेका भएपनि उनीहरुले आफ्ना पक्षमा सहमति नभए निर्वाचनमा जान तयार रहेको भन्दै पछि नहट्ने अडानमा छन् ।

फोरमको महासचिव पदमा भने वर्तमान सचिव भवानी निरौला बन्ने पक्का झै भएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको फोरमका तर्फबाट नेपाली कांग्रेसको महाधिवेशनमा तीन जना व्यवसायीले प्रतिनिधित्व पाउने व्यवस्था रहेको छ ।
फोरमको निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ । फोरमको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ७ पदाधिकारी र १४ जना कार्यकारी सदस्यहरु सहित २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । तर कार्यसमितिका ७ पदाधिकारी र दश सदस्य सहित १७ जनाको मात्र निर्वाचन हुन्छ । बाँकी ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

फोरमका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाटपछि क्रमशः यम बहादुर केसी, किरणकिशोर घिमिरे, बिमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णु गैरे सबै कार्यसमिति निर्विरोध रुपमा निवाचित भएका थिए । सहमति हुन नसकेपछि अघिल्लो पटक निर्वाचनको माध्यमबाट हंशराज वाग्ले अध्यक्षमा चयन भएका थिए । तर, उनले बीचमा नै राजिनामा दिएपछि सुजित श्रेष्ठ कार्यबाहक अध्यक्ष भएर काम गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *