वैदेशिक रोजगारको व्यक्तिगत ठगीमा अव प्रहरीले उजुरी लिने

वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच समझदारी
news-details

वैदेशिक रोजगारीको क्रममा हुने जुनसुकै ठगी रोक्नको लागि वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच समझदारी भएको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन तथा मानव बेचबिखन,ओसारपसारलाई नियन्त्रण गर्न र पीडितलाई संरक्षण तथा पुनस्र्थापना गर्नका लागि आइतबार विभाग र प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसँगै हिजोका दिनमा रहेका वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीको आ–आफ्ना क्षेत्राधिकार हटेको विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले जानकारी दिए । उनले भने–‘ वैदेशिक रोजगारीका जुनसुकै ठगीलाई प्रहरीले हेर्न सक्ने भयो, अझ व्यक्तिगत ठगीलाई प्रहरीले स्थानीय स्तमा नै उजुरी लिने र अनुसन्धान गर्न सक्नेछ ।’

समझदारीसँगै एकआपसमा सहकार्य गरेर वैदेशिक रोजगारका उजुरी लिन र सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषणको लागि सहकार्य गर्न सजिलो हुने विभागका भुषालको भनाई छ ।

बिना इजाजत वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने या यस क्षेत्रको ठगीमा संलग्न हुने व्यक्ति, संस्था, फर्म वा एजेन्सीलाई कानूनको दायरामा ल्याउन पनि सजिलो हुने विभागको विश्वास छ ।

सम्झौतासँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन सम्बन्धी मुद्दा अनुसन्धानको लागि वैदेशिक रोजगार विभागको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ ।

त्यस्तै गरी वैदेशिक रोजगार सम्बन्धी मुद्दाको अनुसन्धानमा वैदेशिक रोजगार विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ ।

मानव बेचबिखन रोक्नको लागि आवश्यक परेको खण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सूचना तथा स्रोत परिचालन गर्न पनि सकिने विभागले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायको लागि इजाजतपत्र लिएका बाहेक अन्य व्यक्ति वा संस्थाहरूबाट वैदेशिक रोजगार व्यवसाय सम्बन्धी कार्य भैरहेको वा ठगी भैरहेको जानकारी विभागलाई प्राप्त भएमा नजिकको श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहने गरी नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना संकलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजात सहित विभागमा पठाउने छन् । आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *