‘श्रमिक बैंक’ स्थापनासँगै तिन महिना भित्र २५ काम गर्ने श्रम मन्त्री यादवको उदघोष

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आगामी ३ महिना भित्र २५ वटा काम पुरा गर्ने उदघोष गरेका छन ।

मन्त्रालयले गरिरहेको वर्तमान गतिविधी तथा आगामी कार्ययोजना बारे जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले २५ वटा काम पुरा गर्ने विवरण सार्वजनिक गरेका हुन ।

मन्त्री यादवले सार्वजनिक गरेको कार्यविवरणमा नयाँ कुरा खासै नआएपनि उनले आफुले मन्त्रालय सम्हालेको झण्डै १ महिनाको अवधिमा पुराना कार्यक्रमहरुको निरन्तरतासँगै केहि उपलब्धीमूलक कामहरु थालेको जानकारी दिएका थिए ।

मन्त्रालयमा पदवहाली गरेलगत्तै सीपयुक्त कामदार मात्र विदेश जाने वातावरण बनाउने उदघोष गरेका मन्त्री यादवले आफ्नो कार्यकालमा श्रमिक बैंक स्थापना गर्ने महत्वकांक्षि योजना बारे पनि खुलासा गरेका छन । ‘स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको तथ्यांक संकलन गर्ने, सीपमूलक तालिम दिने र स्वदेश तथा विदेशका लागि दक्ष जनशक्ति उपलब्धता गराउने गरी श्रमिक बैंक स्थापना गर्ने काम अभिलम्ब सुरु गर्नेछौ’ मन्त्री यादवले भने ।

उनले आफ्नो ३ महिने कार्ययोजनामा पनि सीपविकास तालिम र तालिम केन्द्र संचालनलाई प्राथमिकता दिएका छन भने यही अवधिमा थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सीप तालिम प्रदान गरिने पनि मन्त्री यादवले कार्ययोजनामार्फत सार्वजनिक गरेका छन ।

वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने, विमा र कल्याणकारी कोष वापतको रकम अनलाइनमार्फत बुझाउने व्यवस्था गर्ने, वैदेशिक रोजगार सुचना प्रणाली (FEMIS) लाई थप परिमार्जित गरी सरोकारवालाहरुको आवद्धता बढाउनेलगायतका काम गर्ने मन्त्री यादवले सार्वजनिक गरेको विवरणमा छ ।

यस्तै श्रम सम्झौता तथा समझदारीको नमुना दस्तावेज तयार गर्ने, ओमानसँग द्धिपक्षिय श्रम समझदारी गर्ने, गन्तव्य मुलुकमा संचालन गरिएका सुरक्षित गृह स्तरोन्नती गर्ने र नभएका ठाँउमा संचालनमा ल्याउन राजदूतावासहरुसँग समन्वय गर्ने तथा वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने कार्ययोजनामा उल्लेख छ ।

वैदेशिक रोजगारीको शिलशिलामा अंगभंग भएका तथा मृत्यु भएका व्यक्तिको हकवालाले स्थानिय तहबाटै सुविधा पाउने व्यवस्था गर्ने, चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्नेगरी स्थानिय तहबाटै रोजगार आयोजना संचालनमा ल्याउने तथा सातवटै प्रदेशमा रोजगारीका संभावनाको पहिचान गर्ने पनि मन्त्री यादवले कार्ययोजनामा समेटेका छन । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिकहरुको विमा र सामाजिक सुरक्षा कोषलाई थप प्रभावकारी बनाउने पनि मन्त्री यादबले जनाएका छन ।

त्यसो त यस अघिका श्रम मन्त्रीहरुले पनि यसैगरी आफ्ना कार्ययोजना सार्वजनिक गर्ने गरेका भएपनि कार्यप्रगति बारे भने कसैले स्पष्ट पार्न चाहेनन । अहिले श्रम मन्त्री यादवले पनि आगामी ३ महिनाभित्र मन्त्रालयले गर्ने काम सार्वजनिक गरिरहदा कतै यो विगतकै जस्तो घोषणामै मात्र सीमित हुने त होइन भन्ने धेरैले आशंका गरेका छन ।

मन्त्री यादवले प्रतिवद्धतासहित सार्वजनिक गरेका २५ वटा यी काम पुरा गर्नै नसकिने भने छैनन । हुन त श्रम, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा गर्नुपर्ने कामहरु अनगिन्ति छन तरपनि, अहिले सार्वजनिक गरिएका काम मात्रै पुरा गर्न सकिए मात्रै पनि यो क्षेत्रले देखिने गरीको फडको मार्ने पक्का थियो । यसको जवाफ पक्कै पनि आज जसरी पत्रकार सम्मेलन गरेर मन्त्री यादवले कामको घोषणा गरेका छन ३ महिना पछि त्यसैगरी कार्यप्रगतिको जानकारी पनि दिने नै छन होला ।

कार्ययोजनाको पूर्णविवरणसहित 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *