वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउदै आएका संचारकर्मीहरुको साझा संस्था वैदेशिक रोजगार पत्रकार समाज स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको प्रमुख आतिथ्यतामा केक काटेर समाजले बार्षिकोत्सव समारोह मनाएको हो ।

बार्षिकोत्सव समारोह अघि बिहीबार नै  श्रम, रोजगार तथा सामाजिक सुृरक्षा मन्त्रालयमा आयोजित भेटघाट तथा परिचयात्मक छलफल कार्यक्रममा समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नुका साथै मन्त्री रामेश्वर राय यादवले १० औ बार्षिकोत्सवको अवसरमा शुभकामनासमेत व्यक्त गरेका थिए ।

वैदेशिक रोजगार पत्रकार समाज १० औं वर्षमा, रचनात्मक सुझाव दिन मन्त्री यादवको आग्रह

सो अवसरमा मन्त्री यादवले वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन आफु प्रतिवद्ध भएर लागेको बताउँदै यस क्रममा कुनै कमिकमजोरी देखिए औल्याइदिएर सघाउन समाजका सदस्यहरुलाई आग्रह गरेका थिए । ‘तपाईहरुको लामोसमयदेखिको अनुभव र रचनात्मक सुझावको हामीले अपेक्षा गरेका छौ, साथै सहकार्य गरेर अघि बढन हाम्रो आग्रह छ’ मन्त्री यादवले भने ।

मन्त्रालयका सचिव विनोद केसीले विगतदेखिनै वैदेशिक रोजगार पत्रकार समाजले यस क्षेत्रको सुधारका लागि सशक्तरुपमा आवाज उठाउदै मन्त्रालयका कामकारवाही प्रभावकारी बनाउन भूमिका खेलेको स्मरण गराउदै आगामी दिनमा पनि यस्तै भूमिका निरन्तर रहनेमा आफुहरु आशावादी रहेको बताएका थिए ।

वैदेशिक रोजगार पत्रकार समाज १० औं वर्षमा, रचनात्मक सुझाव दिन मन्त्री यादवको आग्रह

यसैबीच युनियन हाउस अनामनगरमा आयोजित समाजको दशौ बार्षिकोत्सव समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले वर्तमान समयमा वैदेशिक रोजगारको क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड र रोजगारीको स्रोतका साथै समाचारको पनि ठुलो मुहान भएको भन्दै यस क्षेत्रमा रहेका समस्याहरुको उजागरमा शसक्त ढंगमा प्रस्तुत हुन समाजका सदस्यहरुलाई आग्रह गरेका थिए ।

पत्रकार महासंघ यसका लागि समाजसँग सहकार्य गरेर अघि बढन तत्पर रहेको बताउदै महासचिव विष्टले यसका साथै संचारकर्मीको क्षमता अभिवृद्धिमा पनि आफुहरुले सघाउने प्रतिवद्धता व्यक्त गरे ।

सोही अवसरमा समाजका नवनिर्वाचित पदाधिकारी, सल्लाहकारहरु तथा संस्थापक अध्यक्षलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।