जापानिज भाषा परीक्षामा सबै अनुत्तिर्ण, सीप परीक्षामा भने एक जना मात्र उत्तिर्ण

news-details

नर्सिङ केयरगिभरका लागि जापान जानका लागि परीक्षा दिएका सबै नेपाली फेल भएका छन् । जापान फाउण्डेशनले गत कार्तिकमा लिएको भाषा र सीपको छुट्टाछुट्टै परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।

जापान सरकारले लक्की ड्र मार्फत छानेर त्यसमा परेकालाई मात्र परीक्षामा सामेल गराएको थियो । लक्की ड्रमा ५ सय ७४ नेपाली परेका भएपनि पहिलो चरणको नर्सिङ केयर गिभर सीप परीक्षामा १५ जना र भाषा परीक्षामा १२ जना सहभागी भएका थिए । जसमा सीप परीक्षा दिएका १५ जना नै फेल भएका छन् भने भाषा परीक्षा दिने १२ जनामा एक जना मात्र पास भएको छ ।

जापानमा कामदार भिषामा जानका लागि पहिलो पटक कम्युटराइज सिस्टमबाट यस्तो परीक्षा लिएको हो । लक्की ड्रमा परेकाले मात्र परीक्षा दिन पाउने भएकाले धेरैले यो प्रणालीमा सहभागिता जनाउन पाएका थिएनन् ।

जापानले गत नोभेम्बर १२ देखि १९ गतेसम्म लक्की ड्रका लागि आवेदन मागेको थियो । लक्की ड्रमा नै परेका अन्यका लागि दोश्रो चरणको परीक्षा आगामी जनवरी ७ र ८, १४ देखि १६, २१ देखि २३ र २८ देखि २९ गतेसम्म हुने जापान फाउण्डेशनले जनाएको छ ।

जापान फाउण्डेशनले फिलिपिन्स, कम्वोडिया, इन्डोनेसिया र नेपालमा लिएको परीक्षाको नतिजा एकै पटक सार्वजनिक गरेको छ । सबैभन्दा धेरै फिलिपिन्सका ५३ जना सहभागीमा ४२ जना पास, कम्वोडियाको ११४ जना सहभागीमा ४ जना पास, इन्डोनेसियाको ४६ जना सहभागीमा १७ जना पास भएका छन् भने नेपाली एक जना पनि पास भएको छैन ।

पहिलो चरणको परीक्षामा नेपालीहरु पास नै हुन नसक्नु दुभाग्य भएको जापानसँग जानकार अनोज शाक्य बताउँछन् । उनी भन्छन्–‘ के पढ्ने र के पढाउने भन्ने नेपालीहरुमा ज्ञान नभएर फेल भएका हुन्, परीक्षा कडा पटक्कै होइन ।’ जापानीजहरुले नेपाली अत्यधिक मन पराउने भएकाले धैर्यताका साथ पढ्ने हो भने धेरै नेपाली पास हुने शाक्यको भनाई छ ।

जापान फाउण्डेशनले परीक्षाका लागि ४५ सय रुपैया शुल्क लाग्ने जनाएको छ । जापानीज भाषाका लागि २५ सय, नर्सिङ केयर गिभर सीप परीक्षाका लागि एक हजार र नर्सिङ कियर गिभर जापानिज भाषाका लागि एक हजार गरेर ४५ सय लक्की ड्रमा परेकाले तिर्नु पर्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *