आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । ३० देशका ६२ भन्दा धेरै प्रतिनिधि रहेको अन्तर्राष्ट्रिय सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेसँगै शुरु भएको हो ।

आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तरदेशीय राष्ट्रिय मानवअधिकार संस्थाबीच सहयोग आदानप्रदान गर्ने र आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा साझा धारणा बनाउन सम्मेलन गरिएको हो ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले वैदेशिक रोजगारले देशको अर्थतन्त्र चलायन भएपनि श्रमिकहरुको अवस्था सन्तोषजनक नभएको बताए । उनले भने–‘श्रमिकहरुको अधिकार रक्षाका लागि आवाज उठाउन जरुरी छ,जसका लागि सम्मेलनको सफलताको कामना गर्दछु ।’ उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणका लागि नेपाल सदैव तयार रहेको भन्दै आफ्ना नागरिकले आप्रवासनका क्रममा दुःख, कष्ट भोग्नु नपरोस् भनेर आफ्ना प्रयासलाई नेपालले प्रभावकारी बनाउँदै लगेको बताए ।

आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु, आप्रवासी कामदारको अधिकार रक्षामा जोड

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आप्रवासी कामदारको मानव अधिकार रक्षाका लागि धेरै काम गर्न जरुरी रहेको बताए । उनले जुन मुलुकमा रोजगारीका लागि आप्रवासी कामदार पुगेको भएपनि उनीहरुले आफ्नो सीप, दक्षता अनुसार स्थानीय नागरिकले पाउने अधिकार सरह सेवा, सुविधा र सुरक्षा पाउनु पर्ने बताए ।

मन्त्री ज्ञवालीले भने–‘पछिल्लो समयमा नेपालको प्राथमिकता स्वदेशमा नै रोजगारी सिर्जना गर्ने रहेको र सरकारले सोही अनुरुप नीति बनाएर काम गरिहेको छ ।’

सम्मेलनको उद्घाटन कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले आप्रवासन र आप्रवासी श्रमिकहरुको हक अधिकार सम्बन्धी विषयले जति जति विश्वव्यापी रुपमा प्राथिमकता पाउँछ त्यति नै श्रम आप्रबासनको क्षेत्रमा श्रमिकहरुले सकारात्मक व्यवहार अनुभूत गर्ने गरी परिणाम पाउने बताए ।

उनले भने–‘आप्रवासी श्रमिकहरुको मानवोचित व्यवहार र अधिकारको विषय स्थापित गर्न समेत कठिनाई हुनु केवल नेपाल सरकारको लागि मात्र हैन मानव अधिकारको क्षेत्रमा समेत विश्वव्यापी रुपमा गम्भीर चिन्ता र चुनौतीको विषय हो ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगहरुको विश्वव्यापी सञ्जालका अध्यक्ष कार्लो अल्फोन्सो नेड्ग्रेट मोस्क्युरा, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन शत्रमा बोलेका थिए ।

आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु, आप्रवासी कामदारको अधिकार रक्षामा जोड

सम्मेलनमा आप्रवासी कामदारको व्यवस्थापन तथा प्रशासन, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन एवं मानव बेचबिखनका समस्या, आप्रवासी महिला कामदारको सुरक्षा र चुनौती, व्यवसाय र मानव अधिकारको जवाफदेहीता तथा न्यायमा पहुँचको सुनिश्चितता लगायत विषयमा छलफल हुनेछ ।

सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, केन्या, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्याण्डलगायत श्रमिक लिने र आपूर्ति गर्ने देशका मानव अधिकार क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि सहभागी छन ।

सम्मेलनमा नेपालबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगार व्यवसायीहरु, आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा क्रियाशिल गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरु, विज्ञ सहभागी रहेका छन् ।

सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा दक्षिण एशिया तथा एशिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुकहरु, बाटोमा पर्ने मुलुकहरु र गन्तव्य मुलुकहरुमा देखिएका चुनौतिहरु, स्वच्छ र जिम्मेवार भर्ना प्रकेया, अनियमित आप्रवासनलाई सम्वोधन गर्ने साझा सवाल तथा न्यायमा पहुँचको सुनिश्चितताका सम्भावना सम्वन्धमा कार्ययोजना तयार गरी आगामी दिनमा सामुहिक प्रयास मार्फत अगाडी बढ्ने जनाइएको छ ।

सम्मेलनले बिहीबार काठमाडौं घोषणा पत्र जारी गर्ने र कार्यान्वयनको कार्ययोजना समेत बनाउने जनाइएको छ ।