विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगलाई आफ्नै घरजग्गामा स्थापना गर्ने अभियानमा सरकार

news-details

चाँदनी हमाल / परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगलाई आफ्नै घरजग्गामा स्थापना गर्ने अभियान थालेको छ । मन्त्रालयले केही देशमा आफ्नै जग्गासहितको घरमा नियोग सञ्चालन पनि गरिसकेको छ ।

मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले भन्नुभयो, “अमेरिकामा गत वर्षदेखि नै आफ्नै भवनमा राजदूतावास सञ्चालन गरिसक्यौँ, अन्य मुलुकमा जग्गा भएका ठाउँमा घर बनाउने र जग्गा नभएका ठाउँमा जग्गा किन्ने प्रक्रिया सुरु गरेका छौँ । ”

विदेशी भूमिमा आफ्नै भौतिक संरचना हुँदा नेपालको कूटनीतिक संस्थाको पूर्वाधार आत्मनिर्भरताको बाटोमा अग्रसर भएको उहाँ बताउनुहुन्छ । अमेरिकाको वासिङ्टन डीसीमा नेपालले आफ्नै घर किनेर दूतावास सञ्चालनमा ल्याएको हो । त्यस्तै थाइल्यान्डको बैङ्ककमा समेत नेपालको आफ्नै घरमा दूतावास बसेको छ ।
चीनको स्वशासित क्षेत्र ल्हासामा यसअघि नै घर बनाएर महावाणिज्य दूतावास सञ्चालन भइरहेको छ ।

जग्गा भएको स्थान साउदी अरबको रियाद, भारतको नयाँदिल्ली, पाकिस्तानको इस्लामाबाद, श्रीलङ्काको कोलम्बो, अस्टे«लियाको क्यानबेरा, बङ्गलादेशको ढाकामा सरकारको नीतिअनुसार घर बनाउन मन्त्रालयले ताकेता गरिरहेको छ ।

सार्क क्षेत्रका छिमेकी मुलुकमा नेपालको आफ्नै अचल सम्पत्ति र घरजग्गा नभएको अवस्थामा कूटनीतिक क्षेत्र कमजोर देखिने गरेको थियो । यसले परराष्ट्रले गर्न खोजेका विविध प्रवद्र्धनात्मक काममा समेत अवरोध सिर्जना भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका अनुसार भाडाको घरमा आफूले चाहेअनुसार उपयोग गर्न, साधनस्रोत परिचालन गर्न तथा सभा सम्मेलन गर्दा नेपालका दूतावासले विविध अप्ठ्यारा खेपिरहेका छन् ।

आफ्नै घरजग्गा भएपछि सरकारको विदेशी भूमिमा सम्पत्ति विस्तारसँगै अन्तर्राष्ट्रिय छविसमेत उँचो हुने मन्त्रालयको दाबी छ । यसअघि जग्गा भएकै स्थानमा समेत आफ्नो घर नहुँदा राज्यको ठूलो आर्थिक हिस्सा घरभाडामा खर्च भइरहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार स्विजरल्यान्डको जेनेभालगायत अन्य देशमा जग्गा किनेर घर बनाउन मन्त्रालयले सूची तयार गरेरै काम गरिरहेको छ । ओमानमा भने जग्गा भाडामा लिएर घर बनाउने प्रक्रिया थालिएको छ ।

साउदी, पाकिस्तान, श्रीलङ्का, चीनको बेइजिङ र अस्टे«लियाको क्यानबेरामा घर बनाउन सरकारले रकम निकासासमेत दिइसकेको छ । क्रमशः अन्य देशका घरजग्गा व्यवस्थापन गर्न छुट्टै शाखा गठन गरेर काम थालिएको छ । यसका लागि मन्त्रालयले सम्बन्धित देशका राजदूतसँग निरन्तर सम्पर्क गरी भएका प्रगति विवरण सङ्कलन गरिरहेको छ ।

पोखरेलले थप्नुभयो, “सरकारको लागत कम गराउँदै कूटनीतिक गतिविधिलाई विदेशी भूमिमा सबल बनाउन आफ्नै भवन नहुँदा धेरै समस्या आउने गरेको छ । सबै देशमा आफ्नै भवन बनेपछि त्यस्ता समस्यामा कमी आई सरकारको कूटनीतिक नीतिसमेत बलियो हुने छ । ”

जर्मनीस्थित नेपाली दूतावासको जग्गा भने अलपत्र परेको छ । जर्मनी पूर्वी र पश्चिममा विभाजित रहँदा बोन सहरमा नेपालको राजदूतावास थियो । पछि दुई जर्मनी एक भएपछि राजधानी बर्लिन बन्यो । नेपालको राजदूतावास पनि त्यहीँ स¥यो । त्यसैले पहिलेको स्थानको जग्गा बेचेर नयाँ ठाउँमा किन्न पहल भइरहे पनि त्यो हुन नसकिरहेको मन्त्रालयले जनाएको छ ।

नेपालले अहिलेसम्म १६८ देशसँग द्विपक्षीय सम्बन्ध विस्तार गरेको छ । त्यस्तै सार्क, बिमस्टेक, एसिया कर्पोरेसन डायलग र साङ्घाई कोअपरेसन गरी चार प्रकारका क्षेत्रीय अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी काम गरिरहेको छ । झन्डै १० वटा अन्तर्राष्ट्रिय मिसनमा काम भइरहेको छ । पञ्चशीलको सिद्धान्तमा आधारित परराष्ट्र नीति अवलम्बन गरिरहेको नेपालले कसैसँग पनि शत्रुभाव नराखी सबैसँग मित्रताको दृष्टिकोण राखेको छ । विभिन्न देशमा गरी नेपालका ३० राजदूतावास, तीन स्थायी नियोग र छ महावाणिज्य दूतावास छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *