१५ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु हुने संकेत

news-details

विगत १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी सुचारु हुने संकेत देखिएको छ । मलेसिया रोजगारी खुलाउन नेपाल र मलेसिया सरकार सहमति नजिक पुगेका छन् ।

मलेसिया रोजगारी केहीदिनमा खुल्छ भन्दा भन्दै १५ महिना पुग्दासम्म नखुल्दा नेपाल र मलेसिया सरकारलाई नै दवाव परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थालाई मलेसियन दूतावास र मलेसियाको नीजि बेस्टिनेट कम्पनीले अनुगमनपश्चात सूचीकरण गर्ने जनाएपछि सहमति जुट्न लागेको हो । काठमाडौंस्थित मलेसियन राजदूतावासले मन्त्रालयलाई पठाएको पत्रमा स्वास्थ्य संस्था सूचीकरण गर्ने भन्ने विषयले रोजगारी खुलाउने नयाँ संकेत देखाएको हो ।

श्रम मन्त्रालयका अनुसार मलेसिया रोजगारी सुचारु गर्नेबारेको छलफलका लागि उच्चस्तरीय टोली मलेसिया जाने तयारीमा रहेको छ । रोजगारी सुचारु गर्नेबारेको विवादलाई टुंगोमा पु¥याउन भदौ २४ र २५ गते क्वालालाम्पुरमा दुई देशका अधिकारीबीच छलफल गर्ने कार्यक्रम रहेको छ ।

सरकारले स्वास्थ्य परीक्षण गर्ने एक सय २२ स्वास्थ्य संस्था छनोट गरी मन्त्रालयले अन्तिम सूची मलेसिया पठाएको थियो । त्यस सूचीमा परेका ३६ स्वास्थ्य संस्था पुराना हुन् । पुराना संस्थाहरूले सन् २०१५ देखि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । बायोमेट्रिक प्रणालीमा जडित स्वास्थ्य संस्थाले श्रमिकको स्वास्थ्य परीक्षण गरेपछि मात्र मलेसियाको भिसा प्रक्रिया सुरु हुन्छ । मलेसियाले नेपाललगायत १४ मुलुकबाट बायोमेट्रिक प्रणालीमा स्वास्थ्य परीक्षण गरी कामदार लिदै आएको छ ।

मन्त्रालयले १५ महिनाअघि स्वास्थ्य परीक्षण गर्ने संस्थासहित राहदानी संकलनको काम गर्दै आएको भिएलएन र ओएससी र अध्यागमन सुरक्षाको काम गर्दै आएको आइएससीलाई अतिरिक्त रकम लिएको भन्दै कारबाही गर्ने निर्णय गरेको थियो । मन्त्रालयले अहिले सूचिकरणमा परेका ३६ स्वास्थ्य संस्थालाई पनि कारवाही गरेको थियो । सबै संस्थाले अदालतबाट सफाइ पाइसकेका छन् ।

गत कात्तिक १२ मा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी (एमओयू) मा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको पहिलो चरणको सूचीकरण श्रम मन्त्रालयले गर्ने उल्लेख छ । सोही सहमति अनुसार आवेदन दिएकामध्ये मन्त्रालयले अनुगमन गरी पुराना ३६ सहित देशभरिका एक सय २२ स्वास्थ्य संस्थालाई सूचीकरण गरेको थियो ।

अव पुराना ३६ वटा संस्थाबाट स्वास्थ्य परीक्षण गरेर मलेसिया रोजगारी खुल्छ वा नयाँ ८६ वटा संस्था सूचिकरण गरेपछि खुल्छ केही दिन कुर्नै पर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *