वैदेशिक रोजगारीका नाममा ८६ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बरले बढि

news-details

वैदेशिक रोजगारीका नाममा गत आर्थिक वर्ष २०७५/०७६ मा ८६ करोडभन्दा बढी ठगी भएको वैदेशिक रोजगार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ठगीका घटनामा भने केहि कमी आएको छ । जबकी अघिल्लो आवमा यस्तो ठगी रकम झण्डै डेढ अर्ब रुपैया हाराहारी थियो ।

वैदेशिक रोजगार विभागका अनुसार उजुरीका आधारमा संस्थागत ठगी बढि भएपनि रकमका आधारमा भने व्यक्तिगत ठगी निकै बढि छ । संस्थागततर्फ २९ करोड ८४ लाखरुपैया ठगीको उजुरी पर्दा व्यक्तिगततर्फ ५६ करोड २१ लाख रुपैया ठगीको उजुरी विभागमा परेको छ । यस आर्थिक वर्षमा विभागमा परेका २ हजार ७९ उजुरीमध्ये संस्थागत ठगीको उजुरी १ हजार २ सय ६३ र व्यक्तिगत ठगीको उजुरी ८ सय १९ वटा दर्ता भएका थिए ।

संस्थागत ठगीका उजुरीमा मेनपावर कम्पनी र कामदार बोलाएर सहमतिमा पु¥याउने गरिएपनि व्यक्तिगत ठगीका उजुरीमा भने आवश्यक कागजात र प्रमाण नपुग्दा अनुसन्धानमा समस्या पर्ने गरेको विभागले जनाएको छ । कतिपय अन्य लेनदेनका विषय पनि वैदेशिक रोजगारीका नाममा जोडेर उजुरी पर्दा तथा साच्चिकै ठगिएकाहरुको पनि कुनै प्रमाण नहुदा व्यक्तिगत ठगीका घटना ठुलो समस्याको रुपमा खडा भएको हो ।

गत आर्थिक वर्षमा उजुरी परेकामध्ये संस्थागततर्फको ४ सय २९ उजुरी फरफारक गरिएकोमा व्यक्तिगततर्फको भने वैदेशिक रोजगार न्यायीकरणमा छानविनका लागि पठाइएको र त्यसमध्ये २ सय १९ वटा उजुरी अदालतमा मुद्धा दायर भएको विभागको भनाई छ ।

विभागका महानिर्देशक भिष्म कुमार भुसालले वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न आफुहरु प्रतिवद्ध भएर लागेपनि संस्थागतको हकमा सुधार ल्याउन सकिएपनि व्यक्तिगत ठगीका घटनाले भने समस्या ल्याइरहेको बताए । उनले संस्थागत ठगीका हकमा मेनपावरको धरौटी रकमबाटसमेत पीडितको रकम असुल उपर गर्न सकिने भएपनि व्यक्तिगत ठगीको रकम असुल उपर गर्न धेरै समस्या आएको बताए ।

संस्थागत ठगीलाई नियन्त्रण गर्न भन्दै सरकारले एजेन्ट खारेजको निर्णय गरेपनि एजेन्टहरुको संजाल अझै तोडिन नसक्दा पनि ठगीका घटना घटिरहेका छन । यता विभागका महानिर्देशक भुसाल भने अनुगमन टोली परिचालन कार्यविधि २०७६ बनाएर मेनपावर कम्पनीको अनुगमनलाई तिब्रता दिइरहेको बताएका छन । उनले गत आर्थिक वर्षमात्र गलत काम गर्ने ८१ वटा मेनपावर कम्पनीलाई जरीवाना गरिएको र ९३ वटाको कारोवार रोक्का गरिएको जानकारी दिदै अबका दिनमा यसलाई अझै प्रभावकारी बनाउदै लैजाने बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *