वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्ने ७ युवालाई सरकारको सम्मान

news-details

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनिरहेका ७ युवाहरुलाई सरकारले नगदसहित उत्कृष्ट उद्यमी पुरस्कार तथा सम्मान प्रदान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार एक कार्यक्रम गरी उक्त पुरस्कार तथा सम्मान वितरण गरेको हो ।

सो अवसरमा एक जनालाई नगद १ लाखसहित ‘उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार’ र ६ जनालाई (२ जनालाई सयुक्तसहित) नगद ५० हजारसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको थियो ।

यूएईबाट फर्किएर स्वदेशमा कान्तिपुर पोल्ट्रि व्रिडिङ फर्म चलाइरहेका नवराज पौड्यालले ‘उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार’ प्राप्त गरेका छन । ४८ जनालाई रोजगारीसमेत दिइरहेका पौड्याललाई मन्त्री गोकर्ण विष्टले नगद एकलाखसहित सम्मानपत्र प्रदान गरे ।

यस्तै दक्षिण कोरियाबाट फर्किएर कन्काई नपा–१, झापामा डायमण्ड स्टिल उद्योग संचालन गरिरहेका दिपक चापागाई, काठमाडौमा मैत्री मंगल अर्गानिक कृषि फर्म चलाइरहेका यूएईबाट फर्किएका भोजपुरका निरबहादुर राउत र मलेसियाबाट फर्किएका सिन्धुलीका एकबहादुर सिङताङलाई सयुक्तरुपमा, दक्षिण कोरियाबाट फर्किएर फिट वेल गार्मेन्ट उद्योग संचालन गरिरहेका मकवानपुरका मनोज कुमार भारती, यूएईबाट फर्किएर रामलक्ष्मण कृषि फर्म तथा राउत एण्ड सन्स वहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म संचालन गरिरहेकी शर्मीला अधिकारी र दक्षिण कोरियाबाट फर्किएर आलोक गार्मेन्ट उद्योग संचालन गरिरहेका धनगढीका त्रिलोक पनेरुलाई ५० हजार नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्रदान गरियो ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री विष्टले देशमा काम गर्ने अवसरहरु पर्याप्त छन भन्ने कुरालाई व्यवहारमा पुष्टि गर्न र समाजमा सन्देश दिन योगदान दिने उत्कृष्ट केहि युवाहरुलाई सम्मान गरिएको बताए । ‘वैदेशिक रोजगारीबाट फर्किएर स्वरोजगार तथा उद्यमको सम्भावना छ र अन्य केहिलाई पनि रोजगारी दिन सकिन्छ भन्ने कुरालाई सम्मानित व्यक्तित्वहरुले पुष्टि गर्नुभएको छ’ मन्त्री विष्टले भने ।

हामीले हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय श्रम बजारसँग मेल खाने गरी योग्य बनाउन जरुरी रहेको बताउदै मन्त्री विष्टले अब वैदेशिक रोजगारीका क्षेत्रमा कम जोखिमपूर्ण र गुणस्तरीय रोजगारीका लागि जाने वातावरण बनाउन र यस्ता क्षेत्र पहिचान गर्नुपर्ने आवश्यक्ता खडकिसकेको र सरकार यसमा लागेको बताए ।

नेपालको जनशक्तिलाई स्वदेशमा पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गरी देश विकासमा प्रयोग गर्ने समय आइसकेको र सरकार पनि त्यसै अनुरुप अघि बढेको भन्दै मन्त्री विष्टले सरकार दक्ष जनशक्ति उत्पादनमा लागेको बताए । उनले वैदेशिक रोजगारीमा पनि दक्षता हासिल गराएर मात्र पठाउने र वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई स्वदेशमा कामसँग जोडने अभियानमा पनि सरकार प्रतिवद्ध भएर लागेको बताए ।

कार्यक्रममा सम्मानित युवाहरुले आफुहरुले विदेशमा सिकेको सीप, ज्ञान र थोरै थोरै पूजिलाई उपयोग गर्दै स्वदेशमै केहि गर्न खोजेको भन्दै आफुहरुको यस प्रयासलाई सरकारले सम्मान गर्दा विदेशबाट केहि गर्छु भनेर फर्किएका सबै युवाहरुलाई सम्मानित गरेको महसुस भएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *