मलेसिया रोजगारी सुचारुको विषय टुंगो लाग्न अझै १ महिना कुर्नु पर्ने

news-details

श्रम सहमति भएको ८ महिना वित्दासमेत सुचारु हुन नसकेको मलेसिया रोजगारी खुल्ने विषयको टुंगो लाग्न अझ १ महिना कुर्नुपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार प्रतिनिधी सभाको बैठकमा आफ्ना बिचार राख्ने क्रममा उक्त कुरा बताएका हुन ।

संसदमा बोल्दै मन्त्री विष्टले भने –‘अबको एक महिनाभित्र मलेसिया र नेपालको प्राविधिक समूहको बैठक बस्ने गरी समझदारी भएको छ, सोही बैठकले बाकि रहेका विषय टुंगो लगाएपछि मलेसिया रोजगारी सुचारु हुनेछ ।’

श्रम सहमतिमा आफैले हस्ताक्षर गर्दा पनि सुचारु गराउन नसकेको भनेर आरोप खेपिरहेका मन्त्री विष्टले आफ्नो बचाउ गर्दै यसबीचमा कलिङ भिसा लागेकाहरु सुचारु भैसकेको र नयाँ कामदार आपूर्तिका सम्वन्धमा केहि विषय माथिको छलफल बाकी नै रहेकाले प्राविधिक समूहको बैठक पछि सबै सुचारु हुने बताए ।

मन्त्री विष्टले मलेसियासँगको श्रम सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मलेसिया सरकारले स्वास्थ्य सम्वन्धी मापदण्ड पठाएको र त्यो मापदण्डका आधारमा स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था अबको केहि दिन भित्रै टुंगो लगाउने पनि बताए ।

करिब १ वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी श्रम सहमतिमा हस्ताक्षर गरेको ८ महिना वित्दासमेत सुचारु गराउन नसकेको भन्दै संसदमै प्रतिपक्ष दलकी नेतृ तथा नेपाली कांग्रेसले गठन गरेको छाया सरकारकी श्रम मन्त्री डा. डिला संग्रौला पन्तले जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै पेश गरेकी थिइन ।

कामदारमाथि आर्थिक शोषण भएको भन्दै २०७५ जेठ २ गते बन्द भएको मलेसिया रोजगारी अझसम्म सुचारु हुन सकेको छैन । यसबीचमा दुई मुलुकबीचको आपसी छलफलपछि गत कात्तिक १२ गते श्रम सहमतिमा हस्ताक्षर पनि भैसक्यो तर सम्झौता भएको ८ महिना वित्दासमेत नयाँ प्रक्रियामार्फत नेपाली कामदार जान पाएका छैनन । जसका कारण मलेसिया जान तयार लाखौ नेपाली त समस्यामा परेका छन नै देशले अरबौं रुपैयाँ रेमिट्यान्स गुमाइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *