संघको अध्यक्षमा फोरमले तामाङलाई गर्‍यो सिफारिस, प्रगतिशिलमा अन्योलता कायमै

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार २७ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनको निर्वाचनका लागि कांग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले कमल तामाङलाई अध्यक्षको उम्मेदवारमा अघि सारेको छ ।

फोरम कार्यसमितिको विहिबार बसेको बैठकले तामाङलाई सर्वसम्मत अध्यक्षको उम्मेदवारमा शिफारिस गरेको जनाएको छ । फोरमकातर्फबाट अध्यक्षको उम्मेदवारका लागि तामाङसँगै फोरमकै पूर्वअध्यक्ष विष्णु गैरे, संघको वर्तमान कार्यसमितिमा द्धितिय उपाध्यक्षसमेत रहेका भुवनसिं गुरुङ र बरिष्ठ व्यवसायी कमलदेब मल्ल आकांक्षी थिए । तर, उनीहरुको सहमती बिना नै तामाङलाई रातारात अध्यक्षको सिफारिस गर्दा फोरम भित्र नै असन्तुष्टी पैदा भएको छ ।

गत निर्वाचनमा आफ्नै कम्जोरीका कारण हार बेहोरेको निश्कर्ष निकाल्दै फोरमले यसपटक भने सर्वसम्मतरुपमा संघको निर्वाचनमा उम्मेदवार पठाउने गरी उम्मेदवार बन्न इच्छुक आफ्ना सदस्यहरुबाट नाम नै माग गरेको थियो ।

फोरमको बिहीबारको बैठकमा कुनै निष्कर्ष नकिस्किएपछि अधिकांश व्यवसायी बाहिरीसके पछि मात्र तामाङलाई अध्यक्षमा सिफारिस गर्नु सहमतिको खिलाफ भएको फोरमकै पदाधिकारीको भनाई छ । ‘ भुवन गुरुङ आएपछि निर्णय गर्ने भनेर हामी बैठकबाट उठेपछि रातारात अध्यक्षमा सिफारिस गरिनु ठूलो चलखेल हो’ अध्यक्षका आकाक्षी तथा फोरमका पूर्व अध्यक्ष विष्णु गैरेले रोजगार मञ्चलाई बताए ।

यता फोरमले भने बहुमतले तामाङको सिफारिस गरेको बताएको छ । ‘हामीले यसपटक फोरमकातर्फबाट सर्वसम्मत उम्मेदवार पठाउने गरी इच्छा भएका साथीहरुको नाम नै मागेर बृहत छलफल चलाएका हौ, जस अन्तर्गत अध्यक्षको उम्मेदवारमा कमल तामाङ शिफारिस गरिसकेका छौ, अबको १/२ दिन अन्य सबै उम्मेदवारहरुको पनि टुंगो लगाइसक्ने छौ’ अध्यक्ष वाग्लेले भने ।

फोरमले अध्यक्षमा शिफारिस गरेका तामाङ संघ कार्यसमितिमा सदस्य, सचिव हुदै महासचिवसम्मको जिम्मेवारी निभाइसकेका व्यक्ति हुन । हिमारब ओभरसिजका संचालक तामाङ व्यवसायीहरुमाझ स्पष्ट वक्ता, निडर र हक्की स्वभावका व्यक्तित्वकारुपमा परिचित छन । संघ कार्यसमितिमा तिन पटक निर्वाचित हुदा सबैभन्दा बढी भोट ल्याउन सफल तामाङ चौथो पटक भने फोरम विभाजित भएर निर्वाचनमा होमिदा भने पराजित बन्न पुगेका थिए ।

प्रगतिशिलमा अन्योल

लोकतान्त्रिक फोरमले संघको नेतृत्वका लागि अध्यक्षको उम्मेदवार घोषणा गरेसँगै नेकपा समर्थित व्यवसायीहरुको संस्था नेपाल प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चलाई पनि उम्मेदवार छनोट गर्ने चुनौती थपिएको छ ।

प्रगतिशिल मञ्च भित्रै चुनावमा जाने र चुनाव सार्नुपर्ने मतभेद जारी रहेकाले निर्धारित समयमा चुनाव नहुने हो की भन्ने आशंका अझै छ । प्रगतिशिल मञ्चले अहिलेको परिस्थितीमा निर्वाचन गर्न नसकिने र यसलाई सार्नुपर्ने माग गरिरहे पनि मञ्चकै बर्चश्व रहेको संघको कार्यसमितिले असार २७ गते साधारणसभा निर्धारण गरिसकेको छ ।

तथापी प्रगतिशिल वैदेशिक रोजगार मञ्चले अहिले निर्वाचन आवश्यक नभएको बताइरहँदा नेतृत्वका लागि भने भित्रभित्रै खेल शुरु भैसकेको छ । जसकै प्रयास स्वरुप कार्यकाल सकिनै लाग्दा अकस्मात संघका महासचिव नरेश गेलाललाई राजिनामा दिन लगाएर मञ्चका पूर्वअध्यक्षसमेत रहेका सरोज पोखरेललाई महासचिवमा मनोनित गरिएको छ ।

संघको विधान अनुसार अध्यक्षको उम्मेदवार बन्नका लागि कम्तीमा १ कार्यकाल पदाधिकारी बनेको हुनुपर्ने भएकाले नै गेलाललाई बाटो खाली गर्न लगाएर अध्यक्षको उम्मेदवार बनाउने गरी पोखरेललाई मनोनित गरिएको व्यवसायीहरुमाझ चर्चा छ ।

उता प्रगतिशिल मञ्चकातर्फबाट संघका बर्तमान प्रथम उपाध्यक्षसमेत रहेका रामप्रसाद भान्तनाले आफु अध्यक्षको निर्बिकल्प उम्मेदवार रहेको बताउदै आएका छन भने हक्की व्यवसायीका रुपमा चिनिने संघकै पूर्व तृतिय उपाध्यक्ष भैसकेका हरि पाण्डे क्षेत्रीले पनि संघको अध्यक्षका लागि दावी गरिरहेका छन् ।

जसका कारण पनि प्रगतिशिल मञ्चलाई सर्वसम्मत उम्मेदवार छनोट गर्न थप सकस पर्ने देखिएको छ ।

चुनावको अन्योलता, सर्वसम्मत नेतृत्वको माग

वैदेशिक रोजगार व्यवसाय संकटमा परेको अवस्थामा चुनाव नगर्न केही व्यवसायीहरु लागेका छन् । भदौमा मेनपावरको धरौटी बढाउनु पर्ने हुँदा कति व्यवसायी धरौटी राख्न सक्छन् भन्ने टुङ्गो नलाग्दै निर्वाचन गर्नु सान्दर्भिक नभएको बताइन्छ ।

फोरमका अध्यक्ष वाग्लेसहितका व्यवसायीहरु जिल्ला प्रसासन कार्यालयमा गएर निर्वाचन गराउनु पर्ने लविङ गरिरहेका छन् भने संघ कार्यसमिति आफैं निर्वाचन घोषणा गरिसकेको छ । तर, अधिकांश व्यवसायीहरुमा निर्वाचनको उत्साह छैन ।

सधैझै संघको नेतृत्वका लागि फोरम र मञ्चबीचको प्रतिश्पर्धा सुरु भएपनि अधिकांश व्यवसायीहरु भने अहिलेको अवस्थामा सर्वसम्मत नेतृत्व आए हुन्थ्यो भन्नेमा छन् ।

मलेसिया रोजगारी बन्द हुँदा चर्को मारमा परिरहेका व्यवसायीहरु झन पछिल्लो समय सरकारले ल्याएका नीतिनियमका कारण व्यवसाय नै गर्न नसक्ने अवस्थामा पुगिरहेका छन । उता फ्री भिसा फ्री टिकट, धरौटी बृद्धि जस्ता सरकारी निर्णयका कारण धेरै व्यवसायीहरु विस्तापित हुने अवस्था छ ।

यस अवस्थामा व्यवसायीहरु जुट्नु र एक हुनुको विकल्प नभएकाले यस पटकको नेतृत्व सर्वसम्मत ल्याउन सके कतै सकारात्मक सन्देशसँगै अहिलेको डरलाग्दो परिस्थितीबाट छुटकारा पाउन सकिन्थ्यो की भन्ने आशा अधिकांश व्यवसायीहरुमा रहेको पाइन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *