लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने सयम निर्धारण गरिएको छ ।
अनलाइन फाराम भर्दा आयोगको सर्भरमा अत्यधिक चाप भएकाले दरखास्त अपलोड गर्न कठिनाई भएका कारण म्याद थप गरेको उहाँले बताउनुभयो ।
‘अत्यधिक आवेदनका कारण आयोगको सर्भरमा गत जेठ ३० गतेदेखि चाप बढेको थियो’, सुवेदीले भन्नुभयो । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारीको माग गरेको छ । अहिलेसम्म करीब एक लाख ७२ हजार ४४४ जनाले फाराम भरेका छन् । आवेदकले अनलाइन फाराम भर्नमा समस्या भएको भन्दै समय थप गर्न माग गर्दै आएका थिए ।
–रासस








