‘कतार भिसा सेन्टर’को औपचारिक शुभारम्भ : ‘क्युभिसि प्राइभेट होइन, कतार सरकारकै अंग हो’–राजदूत युसुफ विन
- रोजगारमञ्च
- जेष्ठ १५, २०७६
- 0

वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारको यसअघि कतार पुगेपछि गरिने सबै प्रोसेसिङ कार्य नेपालमै गर्ने उद्देश्यले कतार सरकारले स्थापना गरेको ‘कतार भिसा सेन्टर (क्युभिसि)’को बुधबार औपचारिक शुभारम्भ भएको छ ।
काठमाडौंको महाराजगंजस्थित कार्यालयको नेपालस्थित कतारी दूतावासका महामहिम राजदूत युसुफ विन मोहम्मद अलहेल र कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले उक्त कार्यालय सयुक्तरुपमा उदघाटन गरेका हुन । सो अवसरमा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीको पनि उपस्थिती रहेको थियो ।
नेपाल सरकारले क्युभिसि स्थापना हुँदा सिण्डिकेट हुने भन्दै लामो समयदेखि संचालनका लागि अनुमति दिएको थिएन । श्रम मन्त्री गोकर्ण विष्ट र मेनपावर व्यवसायीहरुको विरोधकैबीचमा क्युभिसिले आफ्नो सेवाको औपचारिक शुभारम्भ गरेको हो । यता नेपाल सरकारले क्युभिसि संचालनका लागि अनुमति प्रदान गरिसकेको छ ।
क्युभिसिको औपचारिक शुभारम्भ गर्दै राजदूत युसुफ विनले यो प्राइभेट संस्था नभएको र कतार सरकारकै एउटा अंग भएको हँुदा यसबाट कुनै सिण्डिकेट नहुने बरु नेपाली कामदार र मेनपावर व्यवसायीहरुलाई थप सहज हुने बताए । ‘पुरानो प्रक्रिया केहि पनि फेरबदल भएको छैन, यसअघि कतार पुगेपछि गरिने प्रक्रियालाई थप सहजताका लागि वान डोर सिस्टमबाट नेपालमै गर्ने व्यवस्था गर्न लागेका मात्र हौ’ राजदूत युसुफ विनले भने ।
‘मेनपावर कम्पनी, स्वास्थ्य व्यवसायीले पहिला जस्तै काम गर्न पाउँछन् मात्र कतारमा गएर गरिने काम नेपाल सरेको हो’ यसुफले जानकारी दिए ।
उनले यसबापत कामदारले कुनै अतिरिक्त शुल्क बुझाउन नपर्ने प्रष्ट पार्दै यसअघि आजाद भिसाका नाममा हुने गरेको खर्च र दोहोरो सम्झौतापत्र बनाउने खेल सबै निर्मूल हुने बताए । ‘कामदारको हकहितका लागि कतार सरकारले ल्याएको पछिल्लो मेकानिजम भएको हुदा यसबाट सबै पक्षलाई फाइदा नै पुग्ने छ’ उनले भने ।
कतार भिषा सेन्टरका निर्देशक मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले नेपालमा क्युभिसिको स्थापनापछि अब नेपालीहरुले कतार छिर्ने वित्तिकै काम सुरु गर्न सक्ने बताए । ‘क्युभिसिले यस अघि नेपाली कामदार कतार पुगेपछि गर्दै आएको स्वास्थ्य परिक्षण, कामदारको औठा छाप, भिसा प्रोसेस, विमा, करारनामामा हस्ताक्षर लगायतको काम अब काठमाडौमै गर्नेछ, यसमा पनि स्वास्थ्यको विषयलाई हामीले प्राथमिकता दिएका छौ’ मोहन्नदीले भने ।
उनले काठमाडौमा स्थापना भएको क्युभिसिबाट कामदारको मात्र नभएर सबै प्रकारको भिसाको काम हुने जानकारी दिदै भने –‘क्युभिसिमा आएका सेवाग्राहीहरुले यी सबै सेवाहरु ४५ मिनेट भित्रै पाइसक्नेछन र रोजगारीमा जाने कामदारहरुले सेवा लिएवापत एक रुपैपा पनि शुल्क बुझाउनुपर्दैन ।’
पहिला कतारमा गरिने सबै काम नेपालमै हुने भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने र कुनै समस्यामा नपर्ने क्युभिसिले जानकारी गराएको छ । क्युभिसिको सुरुवातपछि कतार जाने नेपाली कामदार कुनै समस्यामा नपर्ने भन्दै सेन्टरले काठमाडौमै यो सेवा आरम्भ हुदा कामदारसँगै वैदेशिक रोजगार व्यवसायीलाई पनि फाईदा पुग्ने दावी गरेको छ ।
कतारले भिसा सहजीकरण र कामदारको समस्या न्यून गर्नका लागि बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतमा क्युभिसि सञ्चालन गरिसकेको छ । नेपाल क्युभिसि संचालन हुने मुलुकमा पाँचौ मुलुक हो कतारले आफ्नो देशमा बढी कामदार आउने स्रोत मुलुकहरुमा पहिलो चरणमा क्युभिसि संचालन गरिरहेको छ ।
क्युभिसि संचालनपछि भिसा प्रोसेसिङ, मेडिकल लगायतका लागि नेपाली श्रमिकहरुले लामो समय कुर्नु र कतार जान ईच्छुक कामदार मेडिकल फेल भए वा अन्य समस्या भएमा नेपालबाट नै कतार जान नपाउने भएकाले कतार पुगेर फर्किनुपर्ने समस्याको अन्त्य हुने सेन्टरको दावी छ ।
क्युभिसिबाट रोजगारीमा कतार जाने नेपाली श्रमिकहरुको तथ्यांक राखिने र यस्ले कती नेपाली रोजगारीमा कतार गए र कति नेपाली कतारबाट फर्केर आए, कुन कामदार कस्तो अवस्थामा रहेका छन भन्ने जानकारी पनि प्राप्त हुने क्युभिसिले जानकारी दिएको छ ।