वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जाका लागि बैंकमा जान वैदेशिक रोजगार बोर्डको अनुरोध

news-details

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डले एक सूचना जारी गर्दै सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेका सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले बोर्डमा आवेदन दिएका थिए । बोर्डले गत मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन सङ्कलन गरेको थियो । बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७३७ पुरुष र ८९३ महिलालाई सरल कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो ।

सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।

सरल कर्जाका लागि आवेदन दिएका युवाको विवरण बोर्डको वेबसाइटमा राखिएको छ । कर्जा उपलब्ध गराउने प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले सूचीकरण विवरण माग गरे आवेदन दिने युवालाई बोर्डका तर्फबाट सूचीकरण विवरण तथा सिफारिश उपलब्ध गराइने कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *