पछिल्लो समय वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीहरु माथिको अनुगमनलाई तिब्रता दिएपछि यसबाट व्यवसायीहरुमा एक किसिमको त्रास फैलिएको छ । तर यो भनाईलाई चिर्दै विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले अनुगमनबाट नआत्तिन र विचलित नहुन मेनपावर व्यवसायीहरुलाई आग्रह गरेका छन ।

वैदेशिक रोजगारलाई थप मर्यादित बनाउनका लागि नै मेनपावर कम्पनीहरुको अनुगमनलाई तिब्रता दिइएको बताउदै महानिर्देशक भुषालले नियम कानुन सम्मत व्यवसाय चलेको छ या छैन र भोलीका दिनमा यसलाई अझ कसरी सही बाटोमा हिडाउन सकिन्छ भन्ने पाठका रुपमा यसलाई अघि बढाइएको बताए ।

‘हाम्रो अनुगमन एकातिर विद्यमान नियम कानुन कुन हदसम्म पालना भएको छ भन्ने हेर्नलाई हो भने अर्कोतिर वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित बनाउन भोलीका दिनमा कसरी अगाडि बढनुपर्छ भन्ने शिक्षा पनि मेनपावर कम्पनीहरुलाई मिलोस भन्नेका लागि हो’ महानिर्देशक भुषालले भने –‘विभागको अनुगमनलाई कारवाहीको रुपमा मात्र नबुझेर सुध्रने तौरतरिका र नियम कानुन पालनाका लागि सजक बनाउने शिक्षाका रुपमा लिन आग्रह गर्दछौ ।’

‘अनुगमन कारवाही होइन, पाठ सिक्ने अवसर हो’ : महानिर्देशक भुषाल (भिडियो रिपोर्टसहित)

अहिले एजेन्टहरुबाट ठगिने गुनासो अत्याधिक रुपमा बढेकाले यसको नियन्त्रणका लागि मेनपावर कम्पनी र उनीहरुका आधिकारिक कर्मचारीको सुचना अद्यावधिक गर्ने काम पनि विभागले गरिरहेको भुषालले बताए । उनले यस लगत्तै सबै जिल्ला प्रशासन कार्यालयको सहयोगमा स्थानीय स्तरमा समेत वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न विभाग प्रतिवद्ध भएर लाग्ने जनाए ।

उनले वैदेशिक रोजगारीको क्षेत्र मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन व्यवसायीहरु, सरोकारित निकाय तथा विभाग सबै पक्ष प्रतिवद्ध बन्नुपर्ने भन्दै विभागले पनि आफ्ना सेवाप्रवाह, कामकारवाही र कार्यशैलीलाई चुस्त ढंगबाट प्रवाह गर्नेगरी अघि बढेको बताए । महानिर्देशक भुषालले कामदार, व्यवसायी तथा सेवाका लागि आउने जोकोहीलाई घरको वातावरण दिनेगरी सीमित स्रोतसाधनका बाबजुद पनि विभाग लाग्ने बताए ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिमा नपरुन र सीप सिकेर तथा राम्रा अवसरहरुमा मात्र जाने वातावरण बनोस भन्ने आफुहरुको चाहना रहेको बताउदै महानिर्देशक भुषालले पीडितको आसु पुस्नेगरी विभागले काम गरिरहेको बताए । उनले समस्यामा परेका र पीडित नेपालीलाई न्याय दिलाउनका लागि विभागले कुनै कसर पनि बाकि नराख्ने बताउदै सीप सिकेर मात्र विदेश जान र सम्पूर्ण प्रमाणहरु सुरक्षित राख्न आग्रह गरे ।

वैदेशिक रोजगार विभागमा केहि समय अघि मात्र महानिर्देशकमा नियुक्त भएर आएका डा. भिष्म कुमार भुषालले आफु आए लगत्तै मेनपावर अनुगमन, पीडितको उजुरी निःशुल्क लिने व्यवस्था, वैदेशिक रोजगारीमा जादा अनिवार्य सीप हुनुपर्नेलगायतका व्यवस्था अगाडि सारेका छन ।

हेर्नुहोस पुरा भिडियो रिपोर्ट :