वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक डा. भिष्मकुमार भुसाललाई वैदेशिक रोजगार व्यवसायीले स्वागत गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा गएका व्यवसायीहरुले सोमबार महानिर्देशक भुसाललाई स्वागत गर्दै वैदेशिक रोजगारका क्षेत्रमा रहेका नीतिगत समस्यालाई सुल्झाउन अनुरोध गरेका छन् ।

गत मंगलवारदेखि विभागमा महानिर्देशकको पदवहाली गरेका भुसाललाई स्वागत गर्दै संघका अध्यक्ष गुरुङले वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत बेथिती हटाएर व्यवस्थित, मर्यादित र सम्मानित व्यवसाय बनाउनका लागि महानिर्देशक भुसालको कार्यकालको सफलताको शुभकामना दिए । उनले भने–‘विगतमा नीतिगत बेथितीका कारण गलत निर्णयहरु भएका छन् जसका कारण यो क्षेत्र व्यवस्थित हुन सकेको छैन ।’

गलत गर्नेलाई जस्तोसुकै सोर्सफोर्स लगाएपनि छोड्दिन : महानिर्देशक भुसाल

सो अवसरमा अध्यक्ष गुरुङले फ्री भिषा फ्री टिकटको कार्यान्वयनको विषयलाई इंगित गर्दै भने–‘अन्तर्राष्ट्रिय रिक्रुटिङ प्राक्टिस हेरेर नेपाल अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसक्दा व्यवसायीले धेरै समस्या झेल्नु परिरहेको छ, भोलिका दिनमा यस्ता समस्या हट्ने विश्वास हामी व्यवसायीले लिएका छौ ।’ उनले कामदार, व्यवसायी र सरकारको हीतमा संघ जहिल्यै सहकार्य गर्न तयार रहेको समेत बताए ।

श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा विरगंज महानगरपालिको प्रमुख कार्यकारी अधिकृतबाट टपक्कै टिपेर वैदेशिक रोजगार विभागका महानिर्देशक बनाइएका भुसाल अहिले यस क्षेत्रको अध्ययनमा नै ब्यस्त रहेका छन् । यद्यपी उनले श्रममन्त्री र सचिवको पर्याप्त निर्देशन पाएको र सोही अनुसार काम अगाडि बढाउने बताए ।

गलत गर्नेलाई जस्तोसुकै सोर्सफोर्स लगाएपनि छोड्दिन : महानिर्देशक भुसाल

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिका बारेमा सतही जानकार भुसालले व्यवसायी माझ भने–‘वैदेशिक रोजगारका नाममा एजेण्ट र दलालले ठगी गरिरहेका छन, त्यसलाई रोक्न तत्काल एक्सन लिन्छु, तपाईहरुले पनि साथ दिनुहोस् साथै व्यवसायीहरुले पनि विदेशबाट डिमाण्ड ल्याउनका लागि अस्वस्थ्य प्रतिस्पर्धा गरिरहेको छन्, त्यसलाई रोक्नुहोस् ।’

महानिर्देशक भुसालले मेनपावरहरुले पैसा लिएर रिसिभ वा भरपाई नदिने कार्य तत्काल बन्द गर्न पनि निर्देशन दिए । व्यवसायीका अगाडि आफ्नै गुनगानमा समय खर्च गरेका महानिर्देशक भुसालले बद्मासी गर्ने जो कोहीलाई जस्तै पावर वा सोर्स लगाएपनि नछोड्ने चेतावनी दिए । उनले भने–‘गलत गर्नेहरुले कुनै सोर्सफोर्स वा पावर लगाउने प्रयास नगर्नुहोला, म कसैको कुरा सुन्नेवाला छैन ।’ उनले पटक–पटक व्यवसायीहरुलाई लक्षित गर्दै पैसाको भरमा अनैतिक काम नगर्न निर्देशन दिए ।

गलत गर्नेलाई जस्तोसुकै सोर्सफोर्स लगाएपनि छोड्दिन : महानिर्देशक भुसाल

वैदेशिक रोजगार विभाग र मेनपावर व्यवसायीहरुको छवी विगतदेखि नै विग्रिरहेको अवस्थामा महानिर्देशक भुसालले आफ्नो कार्यकालमा यो छवीलाई सुधार्दै नयाँ बाटो देखाउने हुन् या विभागको भित्तामा महानिर्देशकको अर्को फोटो मात्र थप्ने हुन् त्यसका लागि पर्खनु नै पर्ने हुन्छ ।