वैदेशिक रोजगार सम्बन्धी गुनासो सीधै सुनाउन खुल्यो श्रम मन्त्रालयमा ‘कल सेन्टर’

तत्काल गुनासो सुनुवाई गर्ने मन्त्री विष्टको भनाई
news-details

वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो तथा समस्या सीधै सुन्ने र त्यसको सुनुवाई गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलसेन्टर संचालनमा ल्याएको छ । मन्त्रालय परिसरमै संचालनमा ल्याइएको उक्त कल सेन्टरको मन्त्री गोकर्ण विष्टले सोमबार शुभारम्भ गरेका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको व्यवस्थापनमा संचालनमा ल्याईएको कल सेन्टरमा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा ठगीमा परेमा, विदेशमा अलपत्र भएमा, मृतक नेपालीको शव झिकाउनु परेमा, विरामी या घाइते भई स्वदेश फर्कनु परेमा तथा निशुल्क कानुनी सहायताको आवश्यकता भएमा सम्पर्क राख्न सकिने जनाइएको छ ।

मन्त्री विष्टले कलसेन्टरको उद्घाटन गर्दै अब वैदेशिक रोजगार सम्बन्धी कुनै समस्या भए त्यसको समाधानमा सरकार तत्काल लाग्ने बताए । उनले भने–‘विश्वका जुनसुकै कुनावाट आफ्नो समस्या हामीलाई सीधै सुनाउन सक्नुहुनेछ, हामी त्यसलाई तत्काल समाधान गर्नेछौ ।’

विदेशमा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न दूतावास मार्फत तत्काल अगाडि बढाइने श्रमसचिव महेश दाहालले बताए । उनले भने–‘दूतावासमा सहायताका लागि फण्ड हुन्छ त्यसैबाट सहयोग गर्न झन सहज पनि हुनेछ ।’

सरकारले सेवाग्राहीका समस्या सुन्नका लागि ‘हेल्लो सरकार’ संचालनमा ल्याइरहेको भएता पनि मन्त्रालयले यो छुट्टै कलसेन्टर स्थापना गरेको हो । ‘तत्काल समस्या समाधानका लागि आफ्नै कलसेन्टर संचालनमा ल्याएका हौ’ वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

कल सेन्टरमा वैदेशिक रोजगारका अलावा श्रम सम्वन्ध, आन्तरिक रोजगार र सामाजिक सुरक्षा कोषसँग सम्वन्धित सेवाग्राहीहरुको समस्या, जिज्ञासा, गुनासो एवं सुझाव प्रत्यक्ष संकलन गर्ने र त्यसलाई सम्वोधन गरिने काम पनि हुने मन्त्रालयले जानकारी दिएको छ ।समस्या सुनुवाई भए नभएको प्रत्यक्ष निगरानीका लागि श्रम मन्त्रीको नेतृत्वमा छुट्टै संयन्त्र बनाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कल सेन्टरमा सम्पर्क गर्नका लागि स्वदेशबाट भए ११४१ वा १६६००१५०००५मा र विदेशबाट भए भाइबर, इमो, फेसबुक, मेसेन्जरजस्ता सामाजिक संजाल तथा +९७७१५९७०००८ मा कल गर्न सकिने पनि मन्त्रालयले जानकारी गराएको छ । कल सेन्टर हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने र सेवाग्राहीको आवश्यकता अनुसार समय बढाउँदै लगिने पनि मन्त्रालयको भनाई छ ।

हेर्नुहोस विज्ञप्ती

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *