मलेसिया रोजगारी खुल्यो, पहिलो चरणमा कलिङ भिसा लागेका नेपाली कामदार जान पाउने

news-details

विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी आज आइतबारबाट खुल्ला भएको छ । कलिङ भिसा आइसकेका नेपाली कामदारलाई मलेसिया जानका लागि श्रम स्वीकृति दिन वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार कार्यालय काठमाडौ शाखालाई आज आइतबार पत्र पठाएसँगै औपचारिकरुपमा मलेसिया रोजगारी सुचारु हुन लागेको हो ।

गत कात्तिकमा श्रम समझदारी भएलगत्तै सम्पूर्ण प्रक्रिया पुर्याएर कलिङ भिसा लागेका नेपालीलाई खुल्ला गर्न दुवै मुलुकबीच आपसी सहमति भएपनि यो हुन सकिरहेको थिएन । तत्पश्चात मलेसियाली रोजगारदाता र वैदेशिक रोजगार व्यवसायी संघले पनि पटकपटक सरकारलाई कलिङ भिसा लागेकालाई नरोक्न आग्रह गर्दै आएको थियो ।

त्यसपछि सरकारले कलिङ भिसा आएका कामदारको विवरण म्यानपावरहरुसँग मागेको थियो । मन्त्रालय स्रोतका अनुसार व्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएका छन् ।

सरकारले पहिलो चरणमा अहिले तत्कालका लागि कलिङ भिसा लागेकालाई श्रम स्वीकृति खुल्ला गरेको र यसलगत्तै नयाँ कामदारका लागि पनि खोल्ने जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ पहिलो सातादेखि मलेसिया रोजगारीमा जाने कामदारसँग चर्को शुल्क लिइएको भन्दै रोजगारीको प्रक्रिया गर्ने ५ वटा संस्था खारेजको घोषणा गर्दै श्रम स्वीकृतिमा रोक लगाएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *