तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मङ्गलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुगे ।

पोखरीबाट माछा निकाल्ने तयारी गरिएको जानकारी पाएलगत्तै उनी र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुगेका थिए । उनीहरु माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रेष्ठसहित स्थानीय गाउँले पोखरीबाट माछा निकाल्न व्यस्त थिए । करीब दुई घण्टाको समयमा पोखरीबाट माछा निकालेपछि कायस्थले दश र रुचालले एक केजी माछा खरीद गरे ।

कायस्थ र रुचाल मात्रै होइन पोखरीबाट माछा निकाल्ने थाहा पाएपछि अन्य ग्राहकसमेत माछा खरीद गर्नका लागि पोखरीमै पुगेका थिए । कायस्थले पोखरीको माछा मीठो हुने भएकाले आफूले सधैँ यहीँबाटै माछा खरीद गर्ने गरेको बताए।

दमौलीका अन्य व्यक्तिले समेत माछा ल्याइदिन आग्रह गरेपछि आफूले सबैका लागि माछा खरीद गरेर ल्याइदिने गरेको उनी बताउँछन् ।

’चार(पाँच’ जनाले माछा ल्याइदिन अनुरोध गरेर पैसा दिनुभएको थियो । मैले आफू सहित १० केजी माछा खरीद गरेर ल्याएँ’, उनले भने।

सञ्चालक गणेशकुमार श्रेष्ठले मङ्गलबार पोखरीबाटै १०० केजी माछा बिक्री भएको जानकारी दिए ।

’माछा कहिले निकाल्ने भनेर सोध्छन्, मैले जुन दिन निकाल्ने भनेर खबर गर्छु उहाँहरु पोखरीमै आइपुग्नुहुन्छ’, उनले भने।

माछा खरिद गर्न आउनेलाई रित्तो हात फर्काउनुपरेको भन्दै उनले सबै माछा बिक्री हुन्छ जस्तो नलागेको भएपनि आखिरमा थुप्रैलाई माछा र्पुयाउन नसकेको बताए।

पोखरीमै माछाको प्रतिकेजी ४०० पर्छ । माछाका लागि बजारको कुनै समस्या नरहेको बताइएको छ ।

’माछा बिक्री गर्दै बजारसम्म जानुपर्ने अवस्था छैन, पोखरीबाटै छोपाछोप हुन्छ’, श्रेष्ठ भन्छन्।

श्रेष्ठले २० रोपनी क्षेत्रफलमा तीन वटा पोखरी निर्माण गरी माछापालन गरिरहेका छन् । पोखरीमा रहु, कमन, ग्रास, नैनी जातका माछा रहेका छन् । वार्षिक १० लाखभन्दा बढीको माछा बिक्री हुने गरेको उनले बताए ।

माछापालनका लागि श्रेष्ठलाई छोरा भीष्म श्रेष्ठले सघाइरहेका छन्। माछापालनको शुरुआत भीष्मले नै गरेका थिए ।

विदेशबाट फर्किएर शुरु भएको व्यवसाय

भीष्म १० वर्ष दुबई बसे ।

वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनले त्यहाँ मिनरल वाटर कम्पनीमा काम गरे ।

विसं २०५९ देखि २०६९ सम्म विदेशमा बसेर काम गर्दा उनले केही पैसा त कमाए, तर आत्म सन्तुष्टि कमाउन सकेनन् । उनलाई लाग्यो, विदेशमा बसेर यति दुःख गरेर कमाउने जति त स्वदेशमै बसेर दुःख गरेर पनि कमाउन सकिन्छ ।

दुबई बसाईंकै क्रममा उनलाई स्वदेश फर्किएर माछापालन व्यवसाय गर्ने सोच आयो । उनले लगत्तै आफ्ना बाबु गणेशकुमार श्रेष्ठलाई माछापालनबारे सुनाउए, बाबुले पनि उनको प्रस्तावमा सहमति जनाए।

भीष्म विसं २०६९ मा नेपाल पर्किए । लगत्तै माछापालन गर्न केही प्राविधिक कठिनाइ भयो । लगत्तै उनी मलेशिया गए तर छ महीनामै फर्किए ।

’विदेशमा बस्दा नै फर्किएपछि माछापालन गर्छु भन्ने सोच बनाइसकेको थिएँ’, उनले भने। तर स्वदेश फर्किएपछि उनले सुरूमा दमौलीमा होटल सञ्चालन गरेर त्यसपछि विसं २०७१ देखि माछापालन व्यवसाय पनि सुरू गरे ।

भीष्मका बाबु गणेशकुमार श्रेष्ठले भन्नुभयो,

’अरुले जग्गा भाडामा लिएर माछापालन गरेकोसमेत देखेँ, तर हाम्रो त आफ्नै जग्गा छ त्यसमै माछापालन गरौँ न भनेर छोरासँग सल्लाह गरेँ’, बीष्मका बाबु गणेशकुमार श्रेष्ठले भने।

शुरुमा उनीहरुले छ रोपनी क्षेत्रफलमा दुई वटा माछापोखरी खनेका थिए । त्यसका लागि तत्कालीन कृषि विकास कार्यालयले ६० हजार रूपैयाँ सहयोग गरेको थियो ।

(राससका लागि कृष्ण न्यौपाने)