मलेसिया रोजगारी खुलाउन राजदूत पाण्डे र मलेसियाली परराष्ट्र मन्त्रालयका उच्च अधिकारीबीच भेटवार्ता

news-details

विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी चाँडो सुचारु गराउने विषयमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाको परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी दातो नुरसिरवन विन जाइनल अबिदिनबीच भेटवार्ता भएको छ ।

मलेसियाको पुत्राजयमा रहेको परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटवार्तामा चाँडोभन्दा चाँडो नेपाली कामदार पठाउने प्रकृया सुचारु गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

छलफलका क्रममा राजदूत पाण्डेले मलेसियासँग भएको श्रम समझदारी (एमओयू) अनुसार विशेषगरी स्वास्थ्य परिक्षण सम्वन्धी नयाँ मापदण्डका विषयमा मलेसिया सरकारले यथासक्य चाडो काम अघि बढाए चाडो भन्दा चाडो नेपाली कामदार मलेसिया आउने बाटो खुल्ने जानकारी गराएका थिए । पाण्डेले कलिङ भिसा लागेका नेपालीलाई जतिसक्दो छिटो मलेसिया आउने वातावरण बनाउनका लागि सहकार्य गर्न पनि मलेसिया सरकारलाई अनुरोध गरेको नेपाली दूतावास मलेसियाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

छलफलमा नेपाली कामदारको अवस्था, समस्या तथा हकहित संरक्षणका साथै दुई देशबीचको उच्चस्तरीय भ्रमणको संभावना र लगानीलगायतको विषयमा कुराकानी भएको नेपाली दूतावास मलेसियाले रोजगारमञ्चलाई जानकारी दिएको छ ।

सो अवसरमा राजदूत पाण्डेले यही मार्च २९–३० गते नेपालमा हुन गैरहेको लगानी सम्मेलनमा मलेसियाली लगानीकर्ताहरुलाई सहभागी गराउन पनि मलेसियाका परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी दातो अबिदिनलाई आग्रह गरेका थिए ।

गत जेठ पहिलो साता मलेसिया जाने कामदारसँग अवैध शुल्क उठाएको भन्दै मलेसिया रोजगारीको प्रक्रिया संचालन गर्दै आएका संस्थाहरु खारेज भएको घोषणा गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जान रोक लगाएको थियो ।

यसपछि दुवै मुलुकका अधिकारीहरुबीचको छलफल पछि गत कात्तिकमा दुई देशबीच कामदार आपूर्तिका लागि श्रम समझदारीमा हस्ताक्षर भएपनि उक्त सम्झौता भएको महिनौ वित्दासमेत अहिलेसम्म पनि मलेसिया रोजगारी सुचारु हुन सकेको छैन ।

जसका कारण कलिङ भिसा लागेका ७ हजारभन्दा बढी नेपालीको यसअघि नै भैसकेको करोडौ लगानी डुब्ने जोखिमसँगै मलेसिया जान तयार भएर बसेका हजारौ युवाहरुमा अन्यौलता छाएको थियो ।

नेपालीहरुको सबैभन्दा ठुलो रोजगार गन्तव्य मलेसिया रोजगारी बन्द हुदा त्यसको प्रत्यक्ष असर कामदारसँगै मेनपावर कम्पनीहरुमा पनि देखिन थालेको छ । प्रायः मेनपावर कम्पनीले मलेसियामा कामदार आपूर्ति गर्दै आएकोमा यो रोजगारी बन्द भएसँगै अधिकांश मेनपावर कम्पनीहरुमा पनि ताला लागेका छन । उता अप्रत्यक्षरुपमा रेमिट्यान्स, एयरलाइन्स, विमा कम्पनी, गेष्टहाउस, यातायातलगायतका क्षेत्रमा पनि यसको प्रभाव देखिन थालेको छ ।

हेर्नुहोस विज्ञप्ती

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *