बसुन्धरा बम विष्फोटको विरोधमा आज सबै मेनपावर कार्यालय बन्द

विष्फोटको जिम्मा विप्लब समूहले लियो
news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा शुक्रबार राती गराइएको बम विष्फोटको विरोधमा आइतबार सम्पूर्ण मेनपावर कम्पनीका कार्यालय बन्द भएका छन् ।

शनिबार आकस्मिक रुपमा भएको व्यवसायीहरुको भेलाले घटनाको निन्दा गर्दै सुरक्षाको माग राखेर आइतबार व्यवसाय बन्दको निर्णय गरेको हो । मेनपावर व्यवसायीहरुले सरकारसँग सुरक्षाको प्रत्याभूत गराउनका लागि आज व्यवसायी भेला समेत बोलाएकोे छ ।

आइतबारसम्म पनि घटनामा संलग्न व्यक्ति वा समुहका बारेमा सरकारले पहिचान गर्न नसकेमा अनिश्चितकालीन रुपमा व्यवसाय बन्द गर्नुपर्ने आवाज व्यवसायीहरुले उठाएका छन ।

भेलाले आक्रमण अध्यक्ष गुरुङप्रति मात्र लक्षित नभई समग्र वैदेशिक रोजगार व्यवसायीहरु माथिको प्रहार हो भन्ने ठहर गर्दै विषम परिस्थितिमा बिचलित नभई सम्पूर्ण व्यवसायीलाई एकताबद्ध हुन आह्वान पनि गरेको छ ।

विष्फोटलाई कायरतापूर्वक गराइएको घटना भन्दै भेलाले त्यसको घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई यथासक्य छिटो पक्राउ गरी र सत्यतथ्य छानबिन गरि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ ।

आइतबार इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीका कार्यालय बन्द गर्ने र उक्त घटनासँग सम्बन्धित आवश्यक पर्ने सबै भावी कार्यक्रमहरु नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मार्फत सार्वजनिक गरिने पनि भेलाले निर्णय गरेको छ । संघ अध्यक्ष गुरुङले यो सिंगो वैदेशिक रोजगार व्यवसाय माथिको आक्रमण रहेको भन्दै त्यसले व्यवसाय नै असुरक्षित बनाउने प्रयास भएको बताएका छन् ।

संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको संघले कडा शब्दमा भत्र्सना गरेको भन्दै निर्वाध रुपमा व्यवसाय र जीवनयापन गर्न पाउने नागरिकको अधिकार संरक्षण हुनुपर्ने माग गरे । उनले व्यवसायीलाई आतंकित पार्ने र अपुरणीय क्षति पु¥याउने उद्देश्यले घटना घटाइएको पाइएको बताए ।

शनिबार विहान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गुरुङको क्षतिग्रस्त निवास निरीक्षण गरेका थिए । निरीक्षणपछि मन्त्री विष्टले व्यवसायीको सुरक्षाका लागि सरकार संवेदनशिल रहेको बताउँदै व्यवसायीलाई अविभावकत्व प्रदान गर्न सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।

शुक्रवार रातीे घटना भएको २४ घण्टा वित्दा समेत आक्रमणकारी पत्ता लाग्न नसकेपछि बैदेशिक रोजगार क्षेत्रमा भय र आक्रोस देखा परेको छ । मन्त्री विष्टले घटनाका सम्वन्धमा गम्भीर र संवेदनशिल भई छानविन गर्न आफुले गृहसचिव र प्रहरी प्रमुखलाई आग्रह गरेको बताए । यद्यपि व्यवसायीहरु भने आतंकित देखिएका छन् ।

घटना लगत्तै सुरक्षाकर्मीले घटनास्थललाई आफ्नो नियन्त्रणमा राखेको छ । शुरुमा सिलिण्डर बम भनिएपनि घरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ । प्रेसर कुकर बम करिब १० किलोको भएको र उक्त बम अत्यन्तै शक्तिशाली भएको पुष्टि भएकोे प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

विस्फोटबाट भएको आगलागीबाट करीव दुई करोड पर्ने ल्याण्ड क्रुजर गाडी पुरै जलेर ध्वस्त भएको छ भने चार तले घरको सबै सिसा फुटेको छ । क्षतिको मूल्यांकन यकिन भइनसकेको बताइएको छ ।

विष्फोट पछि अध्यक्ष गुरुङको परिवार असुरक्षा महशुस गरी निवास छोडेर वाहिर बस्न थालेका छन् । राजधानीमा हुने विष्फोटनका घटनामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको संलग्नता रहेको सरकारी दावी रहने गरेको छ ।

बिष्फोटको विप्लब समूहको युवा संगठनले हस्तलिखित विज्ञप्ती निकाल्दै जिम्मेवारी लिएको छ । अध्यक्ष गुरुङले घटनाअघि आफुलाई कसैले कुनैपनि प्रकारको धम्की नदिएको, कसैले चन्दा नमागेको र कसैसँग लेनदेन, आर्थिक कारोवारको समस्या पनि नरहेको बताएका छन् ।

घटनास्थलको रुपमा रहेको गुरुङको घर प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालको बसुन्धरास्थित निवास नजिकै पर्दछ । सुरक्षाको दृष्टिले संवेदशील मानिएको उक्त क्षेत्रमा संसाझै विस्फोट हुनुले सुरक्षा अवस्था चुनौतिपूर्ण रुपमा रहेको घटना स्थलमा जम्मा भएका स्थानीयहरुले टिप्पणी गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *