युएई र ओमानसँग श्रम सम्झौताको मस्यौदामा छलफल

शुन्य लागतमा नेपाली कामदार लैजान दुबै मुलुक सकारात्मक
news-details

श्रम सम्झौताको मस्यौदाको बिषयलाई लिएर नेपाली प्राविधिक टोलीले युएई र ओमानसँग छलफल गरेको छ । छलफलका क्रममा नेपाली कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने कुरामा दुवै मुलुक सकारात्मक देखिएको जनाइएको छ ।

नेपाली प्रतिनिधीमण्डलले जनवरी २७ र २८ तारिखमा ओमान तथा ३० र ३१ तारिखमा युएईका अधिकारीहरुसँग श्रम सम्झौताको मस्यौदाको विषयमा छलफल गरेको थियो । यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नबिकरण गर्न लागिएको हो भने ओमानसँग पहिलोपटक श्रम सम्झौता गर्न लागिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरको संयोजकत्वमा युएई र ओमानमा छलफलका लागि गएको ५ सदस्यीय प्रतिनिधीमण्डलले आइएलओ तथा आइएमओको मापदण्ड अनुसार वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने एवं कामदारको सुरक्षा, विमा, स्वास्थ्य उपचार, आवास, सेवा सुविधा र शून्य लागतको विषयमा मुख्य रुपमा छलफल भएको र यसमा दुबै मुलुकका प्रतिनिधी सकारात्मक देखिएको जानकारी दिएको छ ।

युएईको मानव संशाधन मन्त्रालयमा भएको छलफलमा मानव संशाधन मन्त्री नाशर बिन थानी जुमा अल हाम्लीका सल्लाहकारसहित मन्त्रालयका सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सहसचिव डाक्टर ओमार अलनुवाईमी सहभागी थिए भने नेपाली प्रतिनिधीमण्डलसँगै यूएईका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुुयाँल, श्रमकाउन्सुलर भेषबहादुर कार्की र श्रम सहचारी मोतिराम भुसाल सहभागी थिए ।

छलफलमा सहभागी प्राविधिक टोलीले राखेका विषयमा दुवै पक्ष सकारात्मक रहेको र कतिपय फरक बुझाइ रहेको विषयमा स्पष्ट पारिएको छलफलमा सहभागी कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन । उनले युएईका अधिकारीहरु यसअघि भएको श्रम सम्झौतालाई परिमार्जन गरी नविकरण गर्न तत्पर रहेको तथा कामदारको सेवाशुल्क बृद्धि, विमा तथा शुन्य लागतमा कामदार ल्याउने विषयमा पनि सकारात्मक रहेको पाइएको बताए ।

युएई आउनुअघि नेपाली प्रतिनिधीमण्डलले ओमानमा पनि श्रम सम्झौताको मस्यौदाको विषयलाई लिएर छलफल गरेको थियो । ओमानले करिब २ महिना अघि नै उसको तर्फबाट श्रम सम्झौताको मस्यौदा नेपाल पठाएको थियो । यस विषयमा नेपाली पक्षले आफ्नो धारणा र प्रस्तावसहित ओमानी अधिकारीहरुसँग छलफल गरेको हो । उक्त छलफलमा नेपाली दूतावास ओमानकी नियोग उपप्रमुख रोजिना ताम्राकार तथा श्रम सहचारी कृष्णकुमारी गौली पनि सहभागी भएका थिए ।

नेपाली कामदारकाको सेवासुविधा, शुन्य लागतका कामदार आपूर्ति गर्ने विषय तथा घरेलु कामदारको विषयमा छलफल केन्द्रित रहेको जानकारी दिदै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जतिसक्दो चाडो अन्तिम मस्यौदामा सहमति जुटाएर मन्त्रीस्तरिय भ्रमणसहित सम्झौतामा हस्ताक्षर गरिने बताइन ।

छलफलपछि नेपाली प्रतिनिधीमण्डल नेपाल फर्किसकेको छ । अब दुवैपक्षका टोलीले छलफलमा उठेका विषय आ–आफ्नो मुलुकको माथिल्लो तहमा पेश गरेपछि त्यसमा केहि थप छलफल गर्नुपर्ने विषय भए छलफल गरेर अन्तिम मस्यौदामा सहमति जुटाइने छ र श्रम सम्झौतामा हस्ताक्षर गरिनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *