श्रममन्त्रीले पठाएर मलेसिया गएको हुँ : सांसद साँवा

एक हप्ताभित्र रिजल्ट आउने भनाई
news-details

लामो समयदेखि रोकिएको मलेसिया रोजगारी खुल्न नसक्दा अहिले राजनैतिक बृत्तमा पनि ठूलै हलचल मच्चिन थालेको छ । केही दिन अघि मलेसिया पुगेर त्यहाँका मानव संसाधनमन्त्री एम कुलागेसरनसँग सुटुक्क भेटवार्ता गरेका प्रतिनिधिसभाका सांसद तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूको चलखेलले अहिले नयाँ तरङ्ग ल्याएको छ ।

नेपाल सरकार र मलेसिया सरकारबीच श्रम समझदारी हुँदासमेत मलेसिया रोजगारी नखुलेपछि श्रम तथा रोजगार मन्त्रालय र श्रम मन्त्री गोकर्ण विष्टको आलोचना हुन थालेपछि साँसद लिम्बूको सक्रियता बढेको हो ।

करिव १ घण्टा मलेसियन मन्त्रीसँग छलफल गरेर स्वदेश फर्किएका सांसद साँवालाई रोजगार मञ्चले प्रश्न ग¥यो –‘तपाई त सुटुक्क मलेसिया जानु भएछ त ?’ उनले जवाफमा भने–‘ म सुटुक्क गएको होइन, श्रममन्त्री गोकर्ण विष्टको आग्रहमा मलेसियाका मानव संसाधन मन्त्रीको समय लिएर गएको हुँ, उहाँसँग रोकिएको मलेसिया रोजगारी खुलाउने विषयमा एक घण्टा मिटिङ गरेर फर्किएको छु, उहाँसँग गरिएको विषयका बारेमा हाम्रो मन्त्रीलाई जानकारी गराइसकेको छु, अव एक हप्ताभित्र त्यसको रिजल्ट आउँछ ।’

गत जेठ २ गते मलेसिया रोजगारीका नाममा ठगी गरेको भन्दै श्रममन्त्री विष्टले भिएलएन÷ ओएससी, आइएससी, वायोमेट्रिक, माइग्राम्सलाई मुद्धा चलाएका थिए । तर, गत कार्तिक १२ गते मलेसियासँग भएको श्रम समझादारीमा पुरानै प्रकृयाबाट कामदार पठाउने सहमति भएपछि मलेसिया रोजगारी झन अन्योलमा परेको थियो । मलेसियाका भेण्डर हटाउने पक्षमा रहेका मन्त्री विष्ट असफल भएपछि भेण्डर नै परिवर्तन गर्न सकिन्छकी भनेर लागेको स्रोतले बताइरहँदा साँसद साँवा मलेसिया पुग्दा धेरैले भेण्डर परिवर्तनको खेल भएको अड्कल काटेका छन् ।

तर, साँसद साँवा भने यो कुरालाई मान्न तयार छैनन् । उनी भन्छन्–‘ म विगतदेखि नै सिण्डिकेट र आर्थिकभार थप्ने भेण्डरको विरोधी हो, म कसरी आफ्नो पक्षमा भेण्डर लिन सक्छु, यो कुनै हालतमा हुन सक्दैन ।’ उनले अचम्म मान्दै भने–‘ मलेसियाको गृह मन्त्रालय अन्तर्गत रहेको भेण्डरलाई मानव संसाधनमन्त्रीले कसरी दिन सक्छन् ?’ विषय नबुझी लेख्ने मिडिया र व्यवसायीहरुलाई चुनौति दिदै सांसद साँवाले उल्टो प्रश्न गरे ।

साँसद साँवा अर्का व्यवसायी रघु पुरीसँग मलेसिया गएकाले उनी माथि अड्कल काटिएको हो । ‘पुरीजी व्यवसायी भएकाले आफ्नो काममा जानु भयो होला,मेरो भेटघाटमा उहाँसँग कुनै सम्बन्ध छैन’ उनले रोजगार मञ्चलाई बताए ।

यता पछिल्लो समय पनि मलेसिया सरकारले पुरानै प्रकृयाबाट कामदार आपुर्ती गर्ने भन्दै मलेसियन दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

मलेसिया रोजगारी बन्द भएपछि झण्डै १० हजार कलिङ भिषा आएका कामदार उड्न पाएका छैनन् । कलिङ भिषा भएका कामदार र नयाँ कामदार मलेसिया जाने विषयमा एक हप्ताभित्र श्रम तथा रोजगार मन्त्रालयले निर्णय लिइसक्ने भनाई सासद साँवाको छ ।

यता नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सुटुक्क मलेसिया जानु रहस्यमय भएपनि मलेसिया रोजगारी छिटो खुलाउने विषय टुङिगनु पर्ने भनेर सामाजिक सञ्जालमा लेखेका छन् । उनले भेण्डर कस्को पक्षमा हुने भन्दा पनि मलेसिया रोजगारी छिटो खुल्नु पर्ने औल्याएका छन् ।

श्रम मन्त्री विष्ट, मलेसियन मानव संसाधन मन्त्री एम कुलागेसरन र साँसद साँवाबीच भएको यो त्रिपक्षिय संवादले रोकिएको मलेसिया रोजगारी खुलाउने आशा आम व्यवसायीले गरेका छन् नकी भेण्डर परिवर्तन गर्ने खेल मात्र ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *