मलेसिया जाने २० जनाको मात्र श्रम स्वीकृति किन ? श्रम समितिले माग्यो श्रममन्त्रालयसँग जवाफ
- फणिन्द्र दाहाल
- माघ १०, २०७५
- 0

विगत ८ महिनादेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो कलिङ भिसा लागेका २० जना नेपाली कामदारका लागि अन्तिम श्रम स्वीकृति प्रदान गरिएसँगै आशिंक रुपमा खुल्ला भएपनि यो कदमले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने विवादमा तानिएको छ ।
मन्त्रालयको निर्देशनमा गत माघ २ गते व्यक्तिगततर्फ कलिङ भिसा लागेका २० कामदारलाई वैदेशिक रोजगार विभागको काठमाडौ शाखा कार्यालयले अन्तिम श्रम स्वीकृति दिएको थियो ।
कलिङ भिसा लागेका व्यक्तिगत र संस्थागत गरी १० हजार भन्दा बढी कामदारहरु मलेसियाको अन्तिम श्रम स्वीकृतिका लागि प्रतिक्षारत रहँदा २० जना कामदारलाई मात्र अन्तिम स्वीकृति दिनुको कारणबारे संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम तथा रोजगार मन्त्रालयसँग जवाफ माग्ने भएको छ ।
समितिको विहिबार बसेको बैठकमा अधिकांश सदस्यहरुले सरकारले संस्थागततर्फको अन्तिम श्रम स्वीकृति खुलाउनका लागि कुनै तयारी नगर्नु र व्यक्तिगततर्फ पनि २० जनालाई मात्र श्रम स्वीकृती दिनुमा ठुलै चलखेल भएको हुनसक्ने भन्दै आपत्ति जनाएका थिए ।
यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा सरकारसँग छलफल गरिने समितिका सभापति विमलप्रसाद श्रीबास्तवले बताएका छन ।
बैठकमा सरकारले नेपालस्थित मलेसिया दूतावासको आग्रहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्वीकृति दिएको जानकारीसहितको पत्र बुझाएको छ ।
यो पनि पढनुहोस
मलेसिया संस्थागत खोल्नुको सट्टा व्यक्तिगत खोलेर फेरि चुके मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेष्ठ २ गते मलेसिया जाने कामदारमाथि चरम आर्थिक शोषण गरिएकोलगायतका कारण देखाउँदै तत्कालका लागि मलेसिया कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । यस लगत्तै कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि मलेसिया रोजगारी अझ सुचारु हुन सकेको छैन ।
यो पनि पढनुहोस
मलेसिया रोजगारी : श्रम स्वीकृतिका लागि व्यवसायीहरुले विभागमा फाइल पेश गर्ने
समझदारीका क्रममा अर्को व्यवस्था नहुन्जेल कलिङ भिसा लागेका कामदारलाई पुरानै प्रक्रिया अनुसार मलेसिया पठाउने विषयमा सहमति भएपनि नेपालले यस्ता कामदारको श्रम स्वीकृति पनि खुलाएको थिएन । तर पछिल्लो समय घुमाउरो पाराले मन्त्रालयले व्यक्तिगततर्फ कलिङ भिसा लागेका २० कामदारलाई पुरानै प्रक्रिया अनुसार नै अन्तिम श्रम स्वीकृति दिए पछि वैदेशिक रोजगार व्यवसायीहरुले संस्थागततर्फ कलिङ भिसा लागेकालाई पनि अन्तिम श्रम स्वीकृति दिनुपर्ने भन्दै विभागमा फाइल बुझाउने भएका छन ।