मलेसियामा जेल जीवन बिताएका ९ नेपाली स्वदेश फर्कन सफल

news-details

मलेसियामा समस्यामा परेका ९ जना नेपाली स्वदेश फर्कन सफल भएका छन् । जनउद्वार केन्द्र पेनाङ र नेपाली दूतावास मलेसियाले संयुक्तरुपमा जेलमा परेका ९ जना नेपालीलाई बिहिबार राती स्वदेश फिर्ता गराउन सफल भएका हुन् ।

विभिन्न कारणले मलेसिया अध्यागमनको कारबाहीमा परेर जेल सजाय कटाई स्वदेश फर्कनका लागि घरफिर्ती केन्द्र (डिटेन्शन क्याममा) अलपत्र परेको अवस्थामा उनीहरु नेपाल फर्कन सफल भएका हुन् । घरफिर्ती केन्द्रमा आफन्तसँग सम्पर्क नहुँदा अलपत्र परेका वा शारिरीक र मानसिक समस्या झेलिरहेका नेपाली कामदारहरुको उद्वार गरिएको जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले जानकारी दिए ।

मलेसियाको पेनाङ स्थित जुरु र लाङ्कप डिटेन्शन क्याम्पबाट फिर्ता भएर नेपाल आउनेमा मकवानपुरका कल बहादुर जिम्बा,सल्यानका चक्रबहादुर ओली, खोटाङका नारायण घिमिरे, मोरङका सुभास खत्री, इलामका पवनराज गुरुङ, काभ्रेपलान्चोकका जनकलाल तामाङ, झापाका राजु थापा, बैतडीका केशव रातोकी र सुनसरीका मनरुप मगर रहेका छन् ।

उनीहरुलाई लिनका लागि काठमाडौं विमानस्थलमा हास्यकलाकार मनोज गजुरेल र केही आफन्तहरु पुगेका थिए । विमानस्थलमा झर्ने वित्तिकै आफ्नो देशमा आइपुग्न पाएकोमा झापाका राजु थापाले हर्षका आँशु झारे । उनले भने–‘जनउद्धार केन्द्र र त्यसका अध्यक्ष केशु दाईले सहयोग नगरेको भए हामी मलेसियामा नै सड्ने थियौं होला ।’


जनउद्धार केन्द्रले यसरी नै समस्यामा परेका नेपालीहरुलाई नेपाली दूतावास र पीडितका आफन्तहरुको सहयोगमा उद्धार गर्दै आएको छ । यस अघि नै एक सयजनाको उद्धार गरिसकेको जनउद्धारले आगामी दिनमा पनि यस्तै कार्य गर्दै जाने अध्यक्ष थापाको भनाई छ । सहयोगी मन र आफ्नो लोगो राखेको टिशर्ट बेचेर कमाएको पैसाले उद्धारको काम उक्त संस्थाले गरिरहेको छ ।

जनउद्धार केन्द्रले आफ्ना शाखाहरु मलेसियामा विस्तार गर्दै गएको छ । गत हप्ता मात्र सुङाई पेतनीमा शाखा विस्तार गरेको जनउद्धारको धेरै नेपाली श्रमिक रहेको जोहोर बारुमा पनि शाखा खोल्ने तयारी भइरहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *