‘वैदेशिक रोजगार व्यवसायको क्षेत्र अव्यवस्थित र दिशाहिन बन्दै गयो’ (भिडियो रिपोर्टसहित)

– अधिवक्ता देबराज कटुवाल
news-details

पछिल्लो समय वैदेशिक रोजगार व्यवसायको क्षेत्र अस्तव्यस्त बनिरहेको छ । एकातिर अहिले मलेसिया रोजगारी बन्द रहेको छ भने अर्कोतिर अन्य गन्तव्य मुलुकले पनि आप्रवासी कामदारप्रतिको परनिर्भरता घटाउने नीति अख्तियार गरिरहदा श्रम बजार दिनानुदिन साघुरिइरहेको छ । जसको प्रत्यक्ष प्रभावमा वैदेशिक रोजगार व्यवसायीहरु मात्र परेका छैनन जाने कामदार र यस क्षेत्रसँग सरोकारित अन्य व्यवसायसँगै राज्य स्वयं पनि परेको छ ।

स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुदा पनि नेपालीहरु वैदेशिक रोजगारलाई नै रोज्न बाध्य छन । रोजगारीका लागि परनिर्भरताको बाध्यता भोगिरहनुपरेको नेपालमा वैदेशिक रोजगार व्यवसायको क्षेत्र व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन नसकिरहदा भोलीका दिनमा यसले थप जटिलता निम्त्याउने खतरा बढाइरहेको छ ।

यसै सन्दर्भमा नेपाल टेलिभिजन प्लसको कार्यक्रम रोजगारीका आवाजसँगको कुराकानीमा वैदेशिक रोजगारको क्षेत्रलाई नजिकबाट नियालिरहनुभएका कानुन व्यवसायी तथा अधिवक्ता देबराज कटुवाल पनि पछिल्लो केहि वर्षयता नेपालको वैदेशिक रोजगार व्यवसायको क्षेत्र आफैमा अव्यवस्थित र दिशाहिन भैरहेको धारणा राख्नुहुन्छ ।

लामो समयपछि देशले स्थिर सरकार पाउदा पनि यो क्षेत्र ज्यूकात्यू रहेको भन्दै अधिवक्ता कटुवाल भन्नुहुन्छ –‘वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गराउनु राज्यको पनि कर्तव्य हा तर, सरकार र व्यवसायीबीचको आपसी वेमेलको कारण यो हुन सकेन जसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने नेपालीहरु परिरहेका छन ।’

कुनै पनि पेशा व्यवसाय गर्नेको हित र संरक्षण गर्नु राज्यको कर्तव्य हो । झन नेपालको सन्र्दभमा त स्वदेशमै रोजगारी नपाएर विदेशिन बाध्य नेपालीहरुलाई वैदेशिक रोजगारीको क्षेत्रमा पठाउनु कम्ता चुनौतिपूर्ण काम होइन । यस अवस्थामा वैदेशिक रोजगारमा जाने कामदार तथा पठाउने व्यवसायीहरु दुवै पक्षको हकहित र संरक्षण हुने गरी अघि बढनुपर्नेमा राज्य व्यवसायीप्रति अनुदार बनिदिदा स्थिती झन जटिल बनिरहेको अधिवक्ता कटुवाल बताउनुहुन्छ ।

‘अहिले श्रम समझदारी हुदासमेत राज्यले विदेश जान र पठाउन नपाउने गरी जुन बन्देजको अवस्था सिर्जना ग¥यो त्यसले नै वैदेशिक रोजगार व्यवसायप्रति सरकारको धारणा कस्तो छ प्रष्ट हुन्छ’ अधिवक्ता कटुवाल भन्नुहुन्छ–‘राज्यले निषेध होइन जनता, व्यवसायी एवं सबै पक्षलाई सरल वातावरण पो बनाउनुपर्छ त !’

नेपालमा वैदेशिक रोजगार व्यवसायको क्षेत्र औपचारिकरुपमा सुरु भएको ३ दशकभन्दा बढी भैसक्दा पनि यो क्षेत्र संस्थागत हुन नसक्नुमा आपसी संवाद र छलफलको कमि रहेको अधिवक्ता कटुवालको भनाई छ । राज्यले यसलाई गम्भिररुपमा लिनुपर्ने र त्यो दायित्व पनि राज्यकै भएको उहाँ बताउनुहुन्छ ।

‘अब पनि वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई उद्योगकोरुपमा विकास गर्न नसक्ने हो भने यो क्षेत्र व्यवस्थित, मर्यादित र संस्थागत हुनुको साटो झन झन दिशाहिन बन्दै जानेछ’ अधिवक्ता कटुवाल भन्नुहुन्छ –‘वैदेशिक रोजगार विश्वव्यापी ट्रेन हो, यो रोकेर रोकिने नभई राज्यले यसलाई व्यवस्थित बनाउदै छिमेकि मुलुकहरुको वैदेशिक रोजगारीमा पठाउने व्यवस्था हेरेर तथा कामदारदाता मुलुकको नीति नियममा पनि ख्याल गर्दै व्यवहारिक नीति तय गर्नुपर्छ ।’

अबका दिनमा कानुनलाई व्यवहारसम्मत र एकरुपता बनाउदै वैदेशिक रोजगारलाई सिस्टममा लैजान सके अहिलेको अवस्थामा सुधार आउन सक्ने भन्नुहुदै अधिवक्ता कटुवाल व्यवसायीहरु पनि आफुबीचको अस्वस्थ प्रतिष्पर्धा रोकेर एक हुन नसक्ने हो र स्टेकहोल्डरहरुबीच संवादको वातावरण बनाइ एउटा निचोडमा नपुग्ने हो भने वैदेशिक रोजगार व्यवसायको क्षेत्र जटिलतातर्फ मात्र होइन विघटनकै अवस्थामा पुग्ने बताउनुहुन्छ ।

हो, अहिले देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसकिरहेको अवस्थामा वैदेशिक रोजगारीको विकल्प पनि छैन । यस अवस्थामा यो क्षेत्र दिशाहिन बनिरहदा राज्यले व्यवसायीका कुरै नसुन्ने, व्यवसायीहरु राज्यको विरोध मात्र गरिरहने र स्टेकहोल्डरहरु एकअर्कामा संवादको वातावरण बनाउनुको सट्टा आरोप प्रत्यारोपमा मात्र उत्रिरहने हो भने वैदेशिक रोजगारी व्यवस्थित तथा मर्यादितको साटो विघटनको बाटोतर्फ अघि बढनेमा कुनै शंकै छैन ।

यसैले जबसम्म यसका विकल्पहरु तयार गर्न सकिदैन वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरोकारित सबैपक्षहरु एकै ठाँउमा उभिनुको विकल्प पनि हामीसँग छैन ।

हेर्नुहोस भिडियो रिपोर्ट :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *