मलेसिया रोजगारी नखुलेपछि मन्त्री विष्टको आलोचना बढ्दो

विष्ट विरुद्ध सामाजिक सञ्जालमा पोखिए नेता
news-details

निकै तामझामका साथ नेपाल र मलेसियाबीच श्रम समझदारी भएको एक महिना नाघिसक्दासमेत मलेसियाको रोजगारी नखुलेपछि श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टको आलोचना हुन थालेको छ । मलेसिया जान चाहने युवा, सरोकारवाला निकाय, मेनपावर व्यवसायीले मात्र नभएर राजनीतिक दलका शिर्ष नेताहरुले नै मन्त्री विष्टको आलोचना गर्न थालेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वरिष्ठ नेता डा. शेखर कोइराला र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालबाट नै मन्त्री विष्टको आलोचना गरेका छन् । सोमबार आफ्नो फेसबुकमा लेख्दै नेता कोइरालाले श्रममन्त्रीको निहित स्वार्थका लागि सम्झौताविरुद्ध गएर भेन्डर चेन्ज गरी आफू निकटलाई दिन लागेकाले छानबिन हुनुपर्ने बताएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मलेसियासँगको श्रम सम्झौतापछि पनि नियोजित रुपमा रोजगारका लागि मलेसिया पठाउने काम अझै अगाडि नबढ्नु दुर्भाग्य हो । विभागीय मन्त्री तथा सरकारको कमजोरी पनि हो । श्रममन्त्रीले निहित स्वार्थका लागि सम्झौताविरुद्ध गएर भेन्डर चेन्ज गरी आफू निकटलाई दिन लागिपरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा तत्काल यसको छानबिन होस् र पूर्वसहमतिअनुसार मलेसिया पठाउने प्रक्रिया तत्कालै सुरु गरियोस् ।’

 

त्यसैगरी राप्रपा नेपालका अध्यक्ष थापाले श्रम समझदारी पछि पनि मलेसियाको रोजगारी नखुल्नु कुटनैतिक कमजोरी भएको र आशंका पैदा भएको प्रतिक्रिया आफ्नो ट्वीटमा दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘मलेसिया सरकारसँग समझदारीपछि नेपाली श्रमिकहरु उत्साहित भए । तर समझदारीपछि अझै मलेसियामा रोजगारीको अवसर नखोल्नु र बन्द रहनु कुटनीतिक कमजोरी देखिन्छ । यसबाट आशङ्का पैदा भएको छ । भेन्डर परिवर्तन गरी आफ्नालाई दिन मलेसिया खोलेको सञ्चारमाध्यममा आएको छ । प्रम केपी शर्मा ओलीले छानबिन गर्नुहुन्छ कि ?’

श्रममन्त्री विष्टले जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ठगी गरेको भन्दै त्यससँग सम्बन्धित पाँच संस्थाको खारेजी घोषणा गरी मलेसिया रोजगारी नै बन्द गराएका थिए ।

मलेसिया रोजगारी बन्द भएपछि खुलाउनका लागि नेपाल र मलेसियाबीच गत कार्तिक १२ गते दुई देशका मन्त्रीले श्रम समझादारीमा हस्ताक्षर गरेका थिए । हस्ताक्षरसँगै कामदारको सबै रकम रोजगारदाता कम्पनीले तिर्ने सहमति भएपछि तत्काल खुल्ने अपेक्षा थियो । तर, हस्ताक्षर भएको एक महिना नाघिसक्दा पनि मलेसिया रोजगार नखुल्नुमा श्रममन्त्री विष्टकै हात रहेको सबै जानकारको बुझाई छ ।

यता सम्झौता गरेर मलेसिया पुगेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगारेगन तत्काल मलेसिया रोजगारी खुल्ने आशामा थिए ।

श्रम मन्त्रालयले आन्तरिक गृहकार्य भइरहेको बताइरहेको छ तर के प्रगति भइरहेको छ, कहाँ अड्केको छ र कहिले खुल्छ अझै भन्न नसक्नु चै शंका उत्पन्न भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बुझाई छ ।

संघले त १९ गतेभित्र मलेसिया रोजगारी सरकारले नखुलाए श्रमस्वीकृतिका लागि आफैं प्रकृया अगाडि बढाउने जनाइसकेको छ ।

यता नेपाली काँग्रेसकै नेता रामहरि खतिवडाले पनि केहीदिन अगाडि श्रममन्त्री विष्टले केही आफ्ना नजिककालाई मलेसिया जाने कामदारको भिसा प्रक्रिया र मेडिकलको संयन्त्र दिन तल्लीन भएको टिप्पणी गरेका थिए ।

यता श्रम मन्त्रालयको स्रोतका अनुसार मन्त्री विष्टले आफ्नै मन्त्रालयका कर्मचारी र सहयोगीहरुको विश्वास नगरी एकलौटी निर्णय गर्दा समस्या ज्यूँका त्यूँ भएको हो ।

अव केही दिनमा मलेसिया रोजगारी खुल्छ भनेर आशा देखाएका मन्त्री विष्टले कहिलेसम्म मलेसिया जान चाहने कामदारहरुले कुरिरहने ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *