‘कोलोम्बो प्रोसेस’को उच्चस्तरीय बैठक काठमाडौमा बस्दै, कामदार पठाउने देशका लागि फलदायी हुने दावी

news-details

वैदेशिक रोजगारीमा कामदार पठाउने एशियाली मुलुकहरुको साझा संस्था कोलम्बो प्रोसेसको उच्च अधिकारी (सचिव) स्तरीय र मन्त्रीस्तरीय परामर्श बैठक काठमाडौंमा बस्ने भएको छ । कात्तिक २९ र ३० गते हुने बैठकको सम्पूर्ण तयारी पुरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यसहित स्थापना भएको कोलोम्बो प्रोसेस बैठकमा नेपालसहित १२ मुलुकको सहभागिता रहनेछ । कात्तिक २९ गते उच्च अधिकारी (सचिव) स्तरीय बैठक हुने र कात्तिक ३० गते मन्त्रीस्तरीय बैठक हुने जानकारी दिदै मन्त्रालयका सचिव महेश दाहालले बैठक वैदेशिक रोजगारीमा पठाउने मुलुकका लागि फलदायी हुने बताए ।

उच्च अधिकारी (सचिव) स्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका लागि कार्यसूचि, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्ने र सोहिअनुरुप मन्त्रीस्तरीय बैठकले आवश्यक निर्णय गर्ने छ । उच्च अधिकारी (सचिव) स्तरीय बैठकको अध्यक्षता श्रम मन्त्रालयका सचिव दाहालले गर्नेछन ।

वैदेशिक रोजगारीमा रहेका कामदारका हकहितको प्रवद्र्धन, सेवा–सुविधाको संरक्षण, नयाँ गन्तव्यको खोजि, विप्रेशनको बैधानिक प्रवाहको बढोत्तरी, आप्रवासनको व्यवस्थापकिय क्षमता विस्तार, तथ्यांक संकलन र विश्लेषण तथा वैदेशिक रोजगार सुधारका क्षेत्रमा सदस्य राष्ट्रहरुको सहकार्यका विषयमा वैठक केन्द्रित रहने सचिव दाहालले बताए ।

यस्तै वैठकमा सदस्य राष्ट्रहरुले अबलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्नसक्ने लाभका विषयमा पनि छलफल हुने कार्यक्रम तय भएको सचिव दाहालले जानकारी दिए ।

सन् २०१७ को मार्च २९ देखि नेपालले अध्यक्षता गरिरहेको कोलोम्बो प्रोसेसमा नेपालसहित अफगानिस्थान, बंगलादेश, कम्बोडिया, चिन, भारत, इन्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका थाइल्याण्ड र भियतनाम गरी १२ राष्ट्र सदस्य रहेका छन् ।

काठमाडौको सोल्टी क्राउन प्लाजामा मा हुने बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अध्यक्षता गर्नेछन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *