पब्लिक मेनपावरको चरम लापरवाही

कामदारको समस्या समाधान नगर्दै सोही कम्पनीमा अन्य कामदार पठायो
news-details

करार अवधिभर वैदेशिक रोजगारमा पठाएको कामदार कुनै समस्यामा परे त्यसको जिम्मेवारी उसलाई पठाउने मेनपावरले लिनु पर्छ । उसलाई सम्झौता अनुसारको तलव, काम र सेवासुविधा मेनपावरले दिलाउनु पर्छ । यदि कामदारले सम्झौता अनुसार केही नपाएको जानकारी पटक पटक मेनपावर संचालकलाई गराउँदा समेत काठमाडौं सिनामंगलमा रहेको पब्लिक एच.आर सोलुशन मेनपावरले बेवास्ता गरिरहेको छ ।
यूएईको अल रिड बिल्डिङ सेक्युरिटी कम्पनीमा आफुले पठाएका कामदारको समस्या समाधान गर्नुको सट्टा उक्त मेनपावरले गत शनिवार अन्य ४ जना कामदारलाई सोही कम्पनीमा फेरी पठाएको छ ।

३ महिना अगाडि सेक्युरिटी कामका लागि यूएई गएका आश बहादुर गुरुङ, मिलन अर्याल, सरोज विक र गोविन्द केसीले काम र पारिश्रमिक पाउन सकेका छैनन् । काम नपाएर दुई महिना सुतेर नै खानका लागि पैसा अभाव भएपछि गोविन्द स्वदेश फर्किसकेका छन् । अन्य तीन जनाले २ महिना पछि त काम पाए तर कम्पनीले एक पैसा नदिएपछि नेपालबाट नै मगाएर दिन कटाइरहेका छन् ।

आशबहादुरले मेनपावरलाई ४ लाख २५ हजार तिरेर २७ सय ७० दिराम (पीएसबीडी) मा गएपनि कम्पनीले २२ सय ६० दिराम (डीपीएस)को काम गर्न बाध्य भएका छन् । अन्यले जनही ३ लाख २५ हजार मेनपावरलाई बुझाएको बताएका छन् ।

यूएईमा रहेका मिलनले रोजगार मञ्चलाई दुःख बिसाउँदै भने–हामी बिचल्ली भएका छौ, कम्पनीले अहिलेसम्म पैसा दिएको छैन, कसरी खाने र यहाँ बाँच्ने होला ।’ उनीसँगै गएका अन्य कामदारको हालत पनि उस्तै छ ।

मिलनका दाजु खुमनाथ अर्यालले मेनपावर कम्पनीका संचालक केशर मगरलाई पटक पटक सम्पर्क गर्दासमेत कुनै सुनुवाई नगरेको बताए । उनले भने–‘उता भाई दिनदिनै फोन गरेर विलौना पोख्छ, यहाँ मेनपावरले वास्ता गर्दैन ।’ उनी मेनपावर विरुद्ध वैदेशिक रोजगार विभागमा सम्झौता अनुसार काम र पारिश्रम दिलाउन नत्र स्वदेश फिर्ता गरी क्षतिपूर्ती दिलाउनका लागि उजुरी दिने जानकारी दिए ।

यता सिनामंगलमा रहेको मेनपावरमा सम्पर्क गर्न खोज्दा ल्याण्डलाइन फोन समेत काटिएको रहेछ । बल्लबल्ल सम्पर्कमा आएका संचालक केशर मगर कामदारको समस्या नभएको र केही दिनमा नै तलव पाउने जानकारी दिन्छन् । तर, उनले यस्तो भनेको एक महिना हुँदा समेत उनीहरुले एक पैसा नपाएको आफन्तको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *