कोरियामा कार्यरत नेपाली महिला भन्छन्– ‘यहाँ काम गर्न धेरै गाह्रो !’ (भिडियोसहित )

news-details

वैदेशिक रोजगारका लागि लिंगको आधारमा महिला र पुरुषलाई कसैलाई भेदभाव गरिएको छैन । त्यही भएर पछिल्लो समयमा पुरुषसरह महिलाहरु पनि वैदेशिक रोजगारमा गइरहेका छन् । चुलो र चौकामा मात्र होइन सात समुन्द्रपारी उनीहरुले पुरुष सरह पौरख देखाएर सफलतामा पनि चुमिरहेका छन् ।

त्यही भएर पछिल्लो समय इपीएस मार्फत दक्षिण कोरिया जाने नेपाली महिलाको संख्या बढेको हो । आकर्षक कमाई हुने देशका रुपमा चिनिएको कोरियामा अहिले ४५ हजारको हाराहारीमा नेपालीहरु रहेका छन् ।

कोरियामा पुरुष कामदार मात्र होइन महिला कामदार पनि बेलाबेला समस्यामा पर्ने गर्दछन् । उनीहरुका सहयोगका लागि कोरियाका विभिन्न स्थानमा सेल्टरहरुको व्यवस्था गरिएको छ । नेपाली महिलाहरुको संस्था ओमन फर ओमनले महिलाका लागि छुट्टै सेल्टर सिउलको दोङदेमन संचालनमा ल्याएको रहेछ । त्यही सेल्टरमा भेटिएकी काभ्रेकी संगीता गुरुङ, स्याङ्जाकी गीता थापा, इटहरीकी शारदा बराल र दोलखाकी मीना श्रेष्ठको भोगाइ एउटै रहेछ ।

कृषिमा काम गर्न इपीएसबाट गएका उनीहरुले सामूहिकरुपमा पीडा पोख्दै भने– काम धेरै गाह्रो । त्यही भएर कम्पनी परिवर्तनका लागि अर्थात् अर्को सजिलो काम खोज्नका लागि उनीहरु सेल्टरमा आइपुगेका रहेछन् ।

सेल्टरमा भेटिएका सबैजसोले नेपालमा थोरै काम गरेको र कोरियामा निकै काम गर्नुपरेको अनुभव सुनाए । एकदमै चाँडो–चाँडो र साहुसँग निरन्तर काम गर्नुपरेका कारण आफूले काम गर्न नसकेको उनीहरुको भनाई छ ।

‘हामीले अहोरात्र खटेर काम गर्दा पनि यहाँका कम्पनी र साहूहरु सन्तुष्ट हुँदैनन्’ शारदाको भनाइ थियो ।

‘हामीले नेपालमा गरेको कामको मात्र क्षमताले यहाँ पुग्दैन । अत्यन्तै धेरै काम गर्नुपर्छ ।’ सबैको कोरियाप्रतिको साझा बुझाइ यही पाइयो, अझ विशेष गरी महिला कामदारको ।

ओमन फर ओमनकी अध्यक्ष पद्मा श्रेष्ठ समस्यामा परेका नेपाली महिलाका लागि सहयोग प्रदान गर्नका लागि सेल्टर संचालनमा ल्याएको बताउँछिन् ।

कोरियामा श्रमको ठूलो सम्मान छ । श्रमिकहरुले मिहिनेत गरेपछि हरेक महिना कम्तीमा पनि दुई लाख रुपैयासम्म कमाउन सक्छन् । तर राम्रो सीप र श्रमको अभावले गर्दा धेरै नेपालीहरु कोरियामा खट्न सक्दैनन् । नेपालमा काम जति ढिलो र आरामसँग गर्ने बानी परेका नेपाली युवायुवतीलाई चाँडो अर्थात पाल्ली पाल्ली भनेर काम गर्न कोरियनले प्रेसर दिने वमन फर वमनकी सचिव रुपा गुरुङ बताउँछिन् ।

काभ्रेकी संगिता गुरुङ कोरियामा मात्र होइन विदेश गएपछि दुःख नै गर्ने भन्ने मानसिकता बोकेर आउन सबैलाई सल्लाह दिन्छिन् । कोरियामा बाहिर देखेजस्तो सुन्दर मात्र नभएर धेरै कडा र गाह्रो काम गर्नु पर्ने हुन्छ । मानसिकरुपमा काम गर्ने र पैसा कमाउने भन्ने उद्देश्य बोकेर आउन त्यहाँ कार्यरत महिलाको आग्रह छ ।

यता कोरियामा नै कर्मथलो बनाएकी एनआरएन एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङ पुरुष सरह महिलाले काम गर्न सक्ने बताउँछिन् । नेपाली महिलाहरुलाई सही बाटोमा हिडेर सही काम गर्न र आफु जोखिममा बसेर काम नगर्न उनको अनुरोध छ । आत्मबल दरिलो बनाउने हो भने महिलाले पनि विदेशमा धेरै गर्न सक्ने गुरुङको भनाई छ ।

महिला पनि पुरुष सरह जहाँ गएर पनि काम गर्न सक्छन् तर उनीहरुको आत्मबल दरिलो हुन जरुरी छ । अव घरदैलोमा मात्र होइन संसार छिचोल्न नेपाली महिला संक्षम छन्, तर इच्छा शक्ति र साहसको आवश्यता छ ।

हेर्नुहोस भिडियो रिपोर्ट

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *