श्रम सम्वन्धको १७ वर्षपछि नेपाल र मलेसियाबीच श्रम सम्झौता, मन्त्री विष्ट र कुलासेगरानले गरे हस्ताक्षर

news-details

श्रम सम्वन्ध स्थापना भएको करिब १७ वर्षपछि पहिलो पटक नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

सोमबार होटल ह्रयातमा आयोजित कार्यक्रममा नेपालकातर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशाधन मन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । यो हस्ताक्षरसँगै विगत ५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी पनि सुचारु हुने भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर गरेपछि प्रतिक्रिया दिदै श्रममन्त्री विष्टले श्रम सम्वन्ध सुरु भएको झण्डै २ दशकपछि पहिलोपटक एतिहासिक सम्झौता भएको उल्लेख गर्दै श्रमिक पठाउने र लिने दुवै पक्षको हितमा सम्झौता गरिएको बताए ।

यस्तै मलेसियाली मानव संशाधन मन्त्री कुलासेगरानले यो समझदारीले नेपाल र मलेसियाबीचको सम्वन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नेपाली कामदारलाई मलेसियाले उच्च प्राथमिकता दिएको बताए ।

गत जेठ पहिलो साता मलेसिया जाने कामदारहरुलाई आर्थिक भार थपेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीमा जादा प्रक्रिया पुरा गर्ने विभिन्न ५ संस्था खारेज गरेपछि मलेसिया रोजगारी बन्द भएको थियो ।

मलेसिया रोजगारी बन्द भएपछि नेपाली र मलेसियाली अधिकारीहरुबीच यो रोजगारी खुलाउने विषयमा पटक पटक छलफल भएपछि गत असोज पहिलो साता श्रम सम्झौताको मस्यौदाको विषयमा सहमति जुटेको थियो ।

श्रम सम्झौता भएपछि कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्योहोर्नुपर्ने उल्लेख गरिएपनि कामदार आपूर्ति गर्ने प्रक्रिया भने पुरानै व्यवस्था अनुसार हुने भएको छ ।

वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको सबैभन्दा ठुलो गन्तव्य मुलुकको रुपमा रहेको मलेसियामा विदेशिएका नेपालीमध्ये करीब ३० प्रतिशत कार्यरत रहेको अनुमान छ । अहिले मलेसियामा करीब पाँच लाख नेपाली कार्यरत रहेको र जसमा पनि सबैभन्दा बढी नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन् ।

समझदारी पत्रमा उल्लेख भएका मुख्य बुदा

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा कामदार पठाउदा लाग्ने सबै शुल्क सम्वन्धित रोजगारदाताले नै बेहोर्ने, करारअवधि ३ वर्ष रहेकोमा अब २ वर्ष मात्र हुने, प्रत्येक महिनाको ७ तारिखमा कामदारको तलब बैंक खातामार्फत भुक्तानी हुने, कामदारको पारिश्रामिकबाट लेबी नकाटिने, मलेसियाले निर्धारण गरेको न्यूनतम पारिश्रामिक तथा सुविधाभन्दा कम पारिश्रामिक नहुने उल्लेख छ ।

यस्तै महिला कामदारको सन्दर्भमा विशेष सुरक्षाको व्यवस्था हुने, मलेसियाली पक्षले लागू गरेको विमा सम्वन्धी व्यवस्था नेपाली कामदारको हकमा पनि समान ढंगले लागू हुने उल्लेख छ ।

समझदारी पत्रमा नेपाली कामदार दुर्घटनामा पर्दा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउने, मृत्यु भएमा रोजगारदाताले नै शव नेपाल पठाउने व्यवस्था गर्नुपर्ने तथा मलेसियामा कार्यरत कामदारको परिवारका सदस्यको मृत्यु भएमा स्वदेश फर्कन १५ दिनसम्मको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *