वैदेशिक रोजगार व्यवसायको क्षेत्र कब्जा गर्ने रणनीति अनुसार नै धरौटी बढाउने प्रयत्न भएको हो–पूर्वमन्त्री खाँड

news-details

सरकारले मेनपावर व्यवसायीहरुको धरौटी बढाउने गरी ऐन संशोधनको तयारी गरिरहेको बेला पूर्वमन्त्री तथा नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले मनोमानी ढंगले धरौटी बढाउदा अधिकांश व्यवसायीहरु पलायन हुने जान्दा जान्दै पनि सरकारले सीमित व्यक्तिको हातमा यो क्षेत्र पु¥याएर कब्जा गर्ने षडयन्त्र गरेको बताए ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नवौ साधारणसभाको उदघाटन गर्दै प्रमुख अतिथिसमेत रहेका नेता खाँडले जनताको व्यवसाय गर्ने मौलिक अधिकारमाथि कुण्ठित गरेर वर्तमान सरकार सर्वसत्तावादी र निरंकुशता लादेर सवैलाई आफ्नो मुठ्ठिमा कस्न अग्रसर भएको आरोप लगाए ।

‘सबै कम्पनीहरुलाई पेलेर सीमित आफ्ना लगानीकर्ताको मुठिमा सबै क्षेत्र कब्जा गर्ने रणनीति अनुसार नै अहिलेको सरकारले काम गरिरहेको छ र त्यही षडयन्त्र वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा पनि सुरु गरिन लागेको हो’ नेता खाँडले भने–‘३० लाख धरौटीलाई कुन आधारमा ६ करोड पु¥याउने प्रपञ्च भयो ? यो सबैलाई प्रष्ट छ, सम्पूर्ण व्यवसायीहरुले पनि यो स्वीकार्दैनन र हामी पनि यो हुन दिदैनौ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका विपक्षि दलका नेता सुरेन्द्र पाण्डेले देशमा रोजगारी सिर्जना गर्न पनि नसक्ने र उल्टै रोजगार दिने रोजगारदातालाई नै बेरोजगार बनाउन सरकार लागिपरेको भन्दै यसको चर्को आलोचना गरेका थिए ।

नेता पाण्डेले अहिलेको सरकारले व्यवसायीको आवाज सहज ढंगमा नसुन्ने जिकिर गर्दै भने–‘पहिला तपाईहरुले आफ्ना कमीकम्जोरी छन भने पनि सुर्धानुस र आफु माथि लादिएका अत्याचार विरुद्ध संघर्षको मैदानमा उत्रनुहोस् ।’ नेता पाण्डेले व्यवसायीहरुलाई जायज माग लिएर अघि बढन आग्रह गर्दै सदनमा आफुहरुले साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले विश्वको कुनुपनि मुलुक र क्षेत्रमा अत्यासलाग्दो गरी धरौटी बढाउने प्रचलन नभएको तर्क गर्दै समस्या समाधान भन्दा पनि यो समस्या अडकाउने खेल मात्र रहेको बताए । ‘रोजगारीको बाटो बन्द गरेर र समस्यालाई अडकाएर समाधान निस्किदैन’ नेता घिमिरेले भने ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले आफुहरुले व्यवसायीक हकहित, धरौटी बृद्धि, बन्द रहेको मलेसिया रोजगारी लगायतका विषय बारे व्यवसायीहरुको धारणमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टसँग छलफल गर्न खोज्दा समय नै नदिइएको भन्दै लोकतान्त्रिक फोरमको नयाँ नेतृत्वसँग सहकार्य गरेर भावी दिनमा कसरी अगाडि बढने भन्नेमा आफु तत्पर रहेको बताएका थिए

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल तरुण दलका उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेन्द्र श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्ता सावा, तराइ मधेश वैदेशिक रोजगार फोरमका अध्यक्ष शितल यादब, लोकतान्त्रिक फोरमका संस्थापक अध्यक्ष तथा संघका पूर्व अध्यक्ष तिलक रानाभाट, लोकतान्त्रिक फोरमका पूर्वअध्यक्ष किरणकिशोर घिमिरे, संघका निवर्तमान अध्यक्ष तथा लोकतान्त्रिक फोरमका पूर्वअध्यक्ष विमल ढकाल, संघका पूर्वअध्यक्ष हंशराज वाग्ले, लोकतान्त्रिक फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बन्दसत्र सुरु सहमतिको प्रयास जारी

औपचारिक कार्यक्रम अन्तर्गत उदघाटन सत्र समाप्त भएसँगै अहिले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरममा बन्दसत्र चलिरहेको छ ।

यसअघि नेतृत्व निर्विरोध चयन हुदै आएकोमा यस पटक भने नेतृत्वका लागि आकांक्षि बढेपछि फोरमका संस्थापकहरु, पूर्वअध्यहरु तथा अग्रज व्यवसायीहरुले अहिले अन्तिम समयसम्म पनि सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने पहल गरिरहे पनि त्यो संभव हुन सकिरहेको छैन ।

अध्यक्षका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नरेन्द्रप्रसाद ढकाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एवं फोरमका सल्लाहकार हंशराज वाग्ले, पूर्व वरिष्ठ उपाध्यक्ष ऋषि शर्मा र भगिरथ राई (रमेश)ले दावी गरिरहेका छन ।

यता फोरमका अध्यक्ष विष्णुप्रसाद गैरेले भने अन्तिम समयसम्म प्रयत्न गरेर भएपनि निर्विरोध कार्यसमिति चयन गरिने बताउदै सहमति जुटन नसके मात्र निर्वाचनमा जाने बताए ।

‘हामी सकभर वर्तमान परिस्थितिमा एकताको सन्देश दिन चाहन्छौ, यसैका लागि दिनरात सहमति र निर्विरोध नेतृत्व चयनमा लागिपरेका छौ’ फोरमका अध्यक्ष विष्णु प्रसाद गैरेले रोजगारमञ्चसँगको कुराकानीमा भने–‘जसरी हुन्छ हामी यो पटक समावेशी, भौगोलीक, जातिय र कार्यदक्षता भएका सक्षम नेतृत्व चयन गर्नेमा ढुक्क छौ ।’

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २१ सदस्यीय रहने फोरम कार्यसमितिमा १७ जनाको अधिवेशन मार्फत निर्वाचन हुने छ । ४ जना सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचनका लागि फोरमले संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट मुख्य निर्वाचन अधिकृत, सल्लाहकार विष्णुकुमारी गुरुङ निर्वाचन अधिकृत र अधिवक्ता सन्देश राजभण्डारी सदस्य सचिव रहेको एक निर्वाचन समिति गठन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *