वैदेशिक रोजगारीमा गएका नेपालीको विवरण संकलन गरिदै, फर्कनेको पनि तथ्यांक राखिने

news-details

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको विवरणलाई संकलन गरी वैदेशिक रोजगारीको क्षेत्र थप व्यवस्थित तथा सुरक्षित बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने र फर्किने कामदारको सम्पूर्ण विवरण संकलन गर्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो । अहिलेसम्म वैदेशिक रोजगारीमा जाने र फर्कने कामदारको आधिकारिक तथ्यांक कुनै पनि निकायले राख्न सकेको थिएन ।

व्यक्तिगत विवरण, नाम थर ठेगाना, पासपोर्ट नम्बर, काम गर्न जान लागेको कम्पनीको विवरण, श्रम स्वीकृतिको अवधि, पारिश्रमिक सुविधा लगायतका सबै विवरण अनलाइनमार्फत हेर्न सकिने गरी अनलाइन प्रणालीको विकास गरिरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, वैदेशिक रोजगार व्यवसायी संघ, राहदानी विभाग, विदेशस्थित कूटनीतिक नियोग र अध्यागमन विभागमा लिंक हुनेगरी अनलाइन सञ्चालनमा ल्याउने मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगार सम्बन्धी सरोकारित सम्पूर्ण निकाय तथा संस्थालाई एउटै अनलाइन प्रणालीमा जोड्न तथा विदेशिने र विदेशबाट फर्कने नेपालीको यकिन तथ्यांक राख्न यो अनलाइन प्रणाली लागू गर्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए । उनका अनुसार भदौ दोस्रो सातादेखि अनलाइन प्रणाली सुरु गर्ने तयारीमा मन्त्रालय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *